काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले दोस्रो हार बेहोरेको छ । शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावनापनि समाप्त भएको हो ।
जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनमात्र बनाउन सक्यो । नेपालको लागि आसिफ शेखले ४२ रन बनाउँदा अलिन शाहले २७ र कुशल भुर्तेलले १३ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरी र गुलसन झाले समान ६/६ रन बनाउँदा सोमपाल कामी ८ रनमा नटआउट रहे ।
दक्षिण अफ्रिकाको लागि ताब्राइज शम्शीले चार विकेट लिंदा अन्रीच नोर्त्जे र एडिन मार्क्रमले समान एक/एक विकेट लिए ।
यसअघि सेन्ट भिन्सेन्टमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि रेजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरे । यस्तै ट्रिस्टान स्टुब्सले २७, कप्तान एडिन मार्क्रमले १५ र क्विन्टिन डी ककले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै दीपेन्द्र सिंह एरीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका ४ खेलबाट ८ अंक जोड्दै समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको नेपाल एक अंकको सतह चौथो स्थानमा रहेको छ ।