काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा भोलि पहिलो खेल खेल्दैछन् । भोलि(शनिबार) बिहान दक्षिण अफ्रिकाविरुद्ध हुने खेल खेल्दै सन्दीपले विश्वकपमा डेब्यु गर्ने उच्च सम्भावना रहेको छ ।
बलात्कारकोको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपनि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा भएको नेपालको खेल खेल्न पाएका थिएनन् । तर उनी समूहचरणको अन्तिम दुई खेल खेल्न वेस्ट इन्डिज पुगेका हुन् । नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दैछ । नेपाल क्रिकेट संघ(क्यान)ले टोलीमा रहेका युवा बलर प्रतिस जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई १५ सदस्यीय नेपाली टोलीमा राखेको थियो ।
विश्वकपको लागि सन्दीप एक हप्ता अगाडिनै वेस्ट इन्डिज प्रस्थान गरेका थिए । भोलि हुने खेलमा सन्दीप मैदान उत्रिने पक्कापक्की नै छ । लामो समयदेखि बाहिर रहेका सन्दीप भोलिको खेलबाटै मैदान फर्किने उच्च सम्भावना रहेको छ । सन्दीप गत नोभेम्बरपछि पहिलोपटक अन्तराष्ट्रिय खेलको लागि मैदान उत्रिदैछन् । गत नोभेम्बरमा घरेलु मैदानमा भएको ओमानविरुद्ध भएको आईसीसी टी-२० विश्वकपको एसियाली छनोटको फाइनल खेल खेलेका थिए । उक्त खेलमा सन्दीपले दुई विकेट लिएपनि नेपाल सुपर ओभरमा पराजित भएको थियो ।
सन्दीपको आगमनसँगै नेपालको स्पिन डिपार्टमेन्ट बलियो देखिएको छ । जारी विश्वकपमा नेपाल दुई खेलबाट एक अंक जोड्दै समूह ‘डी’को चौथो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।