श्रमका लागि विदेश जाने महिलाको सङ्ख्या बढ्दो

काठमाडौँ ।पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा विदेश जाने महिलाको हिस्सा पाँच प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा पनि क्रमशः बढेको बताए ।

घरेलु श्रममा जान महिलालाई प्रतिबन्ध लगाए पनि अन्य काममा जान खुला रहेको बताउँदै उनले भने, “पछिल्लो समयमा महिला श्रम स्वीकृति लिएर होटेल, उत्पादन उद्योग, सुपरमार्केटलगायतका क्षेत्रमा जाने गरेका छन्, यो क्रमशः बढ्दो छ ।”

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि आव २०७८/७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका थिए । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।

विभागका अनुसार संयुक्त अरब इमिरेट्स (युएई), कतार, दक्षिण कोरिया, इजरायल, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारीका लागि बढी जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, कुवेत, जोर्डनलगायतका देश वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेका छन् । जसमा ५० प्रतिशत हिस्सा युएई र कतारले ओगटेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशबाट छ तर महिलाको सङ्ख्या भने पहाडी जिल्लाबाट गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्य छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौँका महिला गएका छन् । सिप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेसाकर्मी महिलाको प्रतिशत राम्रो रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा उच्च दक्ष र पेसाकर्मी पुरुष क्रमशः ०.०५ र ०.११ प्रतिशत रहेकामा महिलाको हिस्सा भने उच्च दक्षमा ०.०६ र पेसाकर्मीका रूपमा ०.३० प्रतिशत रहेको छ । अर्धदक्ष, दक्ष र अदक्षमा भने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ ।

नेपाल श्रम आप्रवासन प्रतिवेदन अनुसार महिला श्रमिक युएईमा सबैभन्दा बढी रहेका छन् । कुल महिला श्रमिकमध्ये ५० प्रतिशतभन्दा बढी पुनः श्रम स्वीकृति युएईका लागि गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महिला श्रमिक विशेष गरी होटेल तथा सुपरमार्केटमा सरसफाइ, आतिथ्य, सामान प्याकिङ र अस्पतालमा सरसफाइ, हेरचाह तथा स्याहारसुसार जस्ता काममा गएको पाइन्छ । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *