गाजा युद्धविराममा हमासबाट इजिप्टलाई सकारात्मक सङ्केत प्राप्त

 

इजिप्टले सम्भावित गाजा युद्धविराम र इजराइलसँग बन्धक–कैदीको आदानप्रदानमा हमासबाट उत्साहजनक सङ्केत प्राप्त गरेको उच्च स्रोतलाई उदृत गर्दै सरकारी अल–काहेरा न्युजले बताएको छ ।

गाजा पट्टीमा इजराइल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले युद्धविरामका लागि कायरो अन्य मध्यस्थकर्ता दोहा र वासिङ्टनसँग महिनौँदेखि वार्तामा संलग्न छ ।

“हमास नेताहरूले हामीलाई युद्धविराम प्रस्तावको गम्भीर र सकारात्मकरूपमा अध्ययन गरिरहेको सूचित गरेका छन्”, अल–काहेराले स्रोतलाई उदृत गर्दै भनेको छ । स्रोतले प्यालेस्टिनी लडाकू समूहले आगामी दिनमा प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको बताएको छ ।

हमास नेताहरूलाई कायरोमा वार्ताका लागि आमन्त्रित गरेको इजिप्टले ‘प्यालेस्टिनी आन्दोलनबाट युद्धविरामको आकांक्षाको सङ्केत गर्दै सकारात्मक सङ्केत प्राप्त गरेको’ स्रोतले बतायो ।

हमासका प्रतिनिधिहरूको दोहामा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुरहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग भेट गरेको एक दिनपछि यो टिप्पणी आएको हो । नोभेम्बरमा सात दिनको युद्धविरामबाहेक मध्यस्थताको प्रयासहरू द्वन्द्व रोक्न असफल भएका छन् । सात दिनको युद्धविरामका क्रममा इजराइली कारागारमा रहेका दुई सय ४० प्यालेस्टिनी कैदीहरूको बदलामा एक सयभन्दा धेरै बन्धकलाई रिहा गरिएको थियो ।

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘स्थायी युद्धविरामको मार्गचित्र’ प्रस्तुत गर्नुभएको थियो । उक्त मार्गचित्रअनुसार इजराइल गाजाको जनसङ्ख्या केन्द्रहरूबाट फिर्ता हुनेछ र हमासले बन्धकहरूलाई रिहा गर्नेछ ।

बिहीबार बाइडेन र विश्वका अन्य १६ नेताहरूले हमाससँग प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *