एकजना सांसदसँग मतदाताको अपेक्षा

डा. सूर्यराज आचार्य ।
रुसको संवैधानिक कानुन माथि टिप्पणी गर्दै सन् १८११ मा लेखिएको एक पत्रमा समावेश फ्रान्सेली दार्शनिक जोसेफ डी मैस्त्रेको एक कालजयी उक्तिः ’हरेक राष्ट्र समाजेले आफ्नो हैसियत अनुसारको सरकार पाउँछ ।’ नेपालमा पनि यअी देखिँदैछ। नेपाली समाजले कस्तो सरकार, कस्तो नेता, खोजेको हो ? आम समाजको मनोविज्ञान कस्तो छ ? निर्वाचनमा कसले बढी मत पाउँछ ? समाजको हैसियत यसैमा प्रतिबिम्बित हुन्छ, भएको पनि छ । ०७४ सालमा काठमाडौं–२ बाट प्रतिनिधि सभामा म आफैं उमेदवार हुँदाको एउटा अनुभव शेयर गरौं ।

घर दैलो अभियानमा थियौं । एकजना शिक्षित/मध्यमवर्गको देखिने महिलाले ‘भोट त दिने हो, तर एउटा प्रश्न छ’ भन्नु भो । ‘हुन्छ, सोध्नुस’ भनें ।

उहाँः पोहरसाल मेरो श्रीमान मोटरसाइकल दुर्घटनामा पर्नुभो । एक महिना प्राइभेट अस्पतालमा बस्नुभो । सांसदले फोन गर्यो भने अस्पतालले डिस्काउन्ट गरिदिन्छ भन्ने सुनें । सांसदलाई फोन गरें, उठेन । धेरै चोटी गरेपछि उठ्यो । मेरो कुरा राखें । उहाँले कोसिस गर्छु भन्नुभो । तर केही गर्नु भएनछ । पूरै बिल तिरेर डिस्चार्ज गरें । तपाईले सांसदमा जित्नु भयो भने यस्तै त हैन होला नि ?

मः ठ्याक्कै त्यस्तो त गर्दिन । सकभर पहिलो चोटी नै फोन उठाउँला । नभए कल ब्याक गरुँला । तर पहिलो चोटी नै ‘सांसदको यो काम हैन; हरेक मतदाताको यस्तो काम गरेर सम्भव हुँदैन । बरू आम नागरिकलाई कसरी निःशुल्क स्वास्थ सेवा दिने भन्ने नीति/कानुन बनाउनमा मेरो प्राथमिकता रहने छ’ भन्ने मेरो कुरा हुनेछ ।

उहाँः ए…लौ बुझियो ।
मः धन्यवाद।
प्रचारमा संलग्न पार्टीका केही साथीले त्यो सम्म नभनेको भए पनि हुने भन्ने सुझाव दिए । मलाई पनि लटरपटर उत्तर दिएर टरेको भए पनि हुन्थ्यो कि भन्ने लाग्यो । फेरि शुरु देखि नै यस्तो ढाँटढुँटको शैलीले कहाँ पुगिएला भन्ने लाग्यो । आफ्नो विवेकमा लागेको कुरा जे हो त्यही बोल्नु पर्छ भन्ने लाग्यो । तर यस्तो शैलीले भोट नपाईने प्रष्टै थियो । देशमा सबैतिर समस्या छ । समस्याको अनुहार राजनीति, दल, नेता, सरकार, कर्मचारी तहमा तुरुन्तै देखिन्छ । तर समस्या हामी सबैमा छ। आमसमाजमा पनि छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *