बूढानिलकण्ठ बैठकले सत्ता गठबन्धनमा तरंग

काठमाडौं । नेपाली राजनीतिमा उथलपुथल ल्याउने तीन वटा इपिसेन्टर छन् । तीन वटा इपिसेन्टरमा बालुवाटार, बालकोट र बूढानिलकण्ठ हुन् । यसअघि बालकोटले राजनीतिमा ठूलै उथलपुथल ल्याइदियो र बालुवाटारले बूढानिलकण्ठलाई सरकार बाहिर पुर्याइदियो । सत्ताबाट सरकारबाहिर पुगेको बूढानिलकण्ठले गत बुधबार विपक्षी दलहरुकोे बैठक आयोजना गरेको थियो । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर अनि माधवकुमार नेपाल पनि पुगेका थिए । बैठकमा मधेस सरकार जोगाउने र राष्ट्रिय राजनीतिका बारेमा छलफल भएको बताइएको छ । छलफलमा भएका विषयवस्तुबारे बाहिर सार्वजनिक नगरिएपनि अर्को गठबन्धन बनाउनेबारेमा छलफल भएको सहजै अनुमान गर्न सकिन्छ । किनकी सत्तामा रहेर पनि माधव नेपाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन् ।

जुनकुरा सार्वजनिक रुपमा माधव नेपालले दिने गरेका अभिव्यक्तिबाट स्पष्ट हुन्छ । अहिलेको सत्ता समीकरणमा रहेका माधव नेपाल बूढानिलकण्ठ बैठकमा गएपछि सत्तासमीकरणमा तरंग उत्पन्न भएको छ । बैठकमा माधव नेपाल सहभागी भएपछि बढी सशंकित नेकपा एमाले भएको छ । माधव नेपाल बैठकमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बालुवाटार बोलाएर छलफल गरेका छन् । भेटमा खनालले आफूहरु अर्को गठबन्धन बनाउने पक्षमा नरहेको बताएका थिए । त्यस्तै प्रधानमन्त्रीले माधव नेपाललाई पनि फोन गरेर सोधेका थिए । जुनकुरा प्रधानमन्त्रीले विराटनगर पुगेका बताएका थिए । माधव नेपालसँग फोनमा कुरा गरेका प्रधानमन्त्रीले माधव नेपाल आफूहरुसँग रहेको र अर्को गठबन्धनमा नजाने बताए । प्रधानमन्त्रीले सार्वजनिकरुपमा यस्तो बताएपनि शुक्रबारको पार्टी संसदीय दलको बैठकमा पार्टीका सांसदहरुले यसबारे प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ । मैले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थिएँ । दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक पर्दैन ।’ अझ प्रधानमन्त्रीले सत्ता समीकरणमा सल्लाह भएर नै माधव नेपाल बूढानिलकण्ठ गएको भन्न समेत भ्याए ।

प्रधानमन्त्रीले पार्टीका सांसदलाई यस्तो बताएपछि शुक्रबार प्रचण्ड र ओलीले माधव नेपाललाई सिंहदरबारमै बोलाए । भेटमा तीन नेताबीच बूढानिलकण्ठ बैठककाबारेमा कुराकानी भएको बताइएको छ । तर बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले विषयबस्तु त खुलाएनन, भने समसामयिक राजनीतिकाबारेमा कुरा भयो । नयाँ सत्तासमीकरण बनेपछि माधव र ओलीबीच तिक्तता मेटिएको देखिएपनि फेरि वाकयुद्ध चलेको थियो र चलिरहेको छ । यदि बूढानिलकण्ठ बैठकले तरंग नल्याएको भए ओली र प्रचण्डसँगै बसेर माधव नेपाललाई बोलाउने थिएनन् । अहिले पनि जसपाको फुटेर गएको पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधिन छ । यदि सर्वोच्चले उपेन्द्रको पक्षमा निर्णय दियो भने अहिलेको सत्ता ढल्ने निश्चितप्रायः छ । किनकी यसपछि एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिने तयारीमा छ । त्यसैले सर्वोच्चको निर्णय पर्खेर माधव नेपाल सरकारमा बसेको हल्ला राजनीतिक वृत्तमा चलेको छ । सरकार ढल्ला नढल्ला आफ्नो ठाउँमा होला, तर बूढानिलकण्ठ बैठकमा माधव नेपालको प्रवेशले भने सत्ता गठबन्धनलाई तरंग भने ल्याइदिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *