काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको थियो ।
नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए।
नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए । नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए । तर प्रदेश प्रमुखले दुबै दाबीलाई मान्यता नदिई पुनः दाबी पेश गर्न आह्वान गरे ।
त्यतिबेला एकीकृत समाजवादीका दीर्घ सोडारीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र प्रदेश प्रमुखले उनैलाई नियुक्ति गरेका थिए । त्यसपछि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।