जसपाको यो विभाजन नेपालमा अस्थिरता चाहनेहरुको लागि ट्रेलर मात्रै हो

रामकुमार शर्मा ।
जनता समाजवादी पार्टी नेपाल दल विभाजनले मलाई स्तब्ध बनाएको छ । हलाकी यो विभाजन नत पहिलो हो नत अन्तिम हुनेछ । तथापि यो मुलुकका शासक वर्गद्वारा उत्पीडनमा पारिएका मधेसी ,थारू, मुस्लिम,दलित आदिवासी/जनजाती लगायतका औपनिवेशिक अवस्थामा रहेका बहुसंख्यक नागरिकहरुको मुक्तिको लागि संघर्ष गर्ने एउटा क्रान्तिकारी पार्टी र तिनका नेताको नाताले निरन्तर यस प्रकारले हुने पार्टी विभाजन वा विद्रोहको कारणबारे गम्भीर शिक्षा लिन जरुरी छ ।

दोस्रो कुरा हाम्रो जस्तो अल्पविकसित र संसारको शक्ति राष्ट्रहरुको क्रिडास्थलको रुपमा रहेको हाम्रो सुन्दर देश नेपाललाई सके आफ्नो प्रभावमा पार्ने नत्र युक्रेनको दिशामा धकेलिदिने षड्यन्त्रहरू चलिरहेकै स्थितिमा एउटा क्रान्तिकारी पार्टी माथि बज्र प्रहार हुनु भनेको नेपाली नागरिकको लागि खुसीको कुरा नभई बुढी मरि त्यसको चिन्ता भन्दा पनि काल पल्क्यो भन्ने रुपमा सबै देशभक्तहरुले ग्रहण गर्न जरुरी छ । किनकी यो विभाजन नेपालमा अस्थिरता चाहनेहरुको लागि ट्रेलर मात्रै हो । बास्तविक फिल्म त केही महिना पछि शुरु होला । तसर्थ आत्मस्वाभिमान भएका नेता र आन्तरिक औपनिवेशिकरणकोबिरुद्ध संघर्ष गर्ने सम्पूर्ण देशभक्तहरुले यस प्रकार को षड्यन्त्रको विरोध एवं भण्डाफोर गर्न जरुरी छ ।

तेस्रो कुरा अहिलेको विभाजनको तस्बिर हेर्दा कार्यकारी अध्यक्ष अशोक राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत घोषणा गरिएका ३० जना केन्द्रीय समिति सदस्यहरू मध्ये दुई तिहाइ सदस्यहरु जनजाती र खस आर्य समुदायबाट रहेको छ । दुई तीन जना लोभी–पापी नेताहरु बाहेक मधेसी,थारु,दलित,मुस्लिम समुदायबाट मधेसका असल नेताहरु विभाजित भएर गएको देखिदैन । यसले संसदीय दल विभाजन गरेर उपेन्द्र यादवलाई झुकाउने दुष्प्रयास गरेपनि जमिनमा जनताको आन्दोलनलाई यसले खासै प्रभावित बनाउन सक्दैन ।

चौथो कुरा अधिकारवादी आन्दोलन र तिनका नेतालाई कमजोर बनाउन, उत्पीडित राष्ट्रियताहरुको मुक्तिको लागि महान मधेस जनविद्रोहबाट जन्मेको हाम्रो प्यारो एवं क्रान्तिकारी पार्टी जसपा नेपाललाई प्रथम निशाना बनाएर दल विभाजन गरेका कारण मधेसी लगायत आम मुक्तिकामी जनसमुदायमा उत्पन्न शोकलाई शक्तिमा बदल्नुपर्छ । सत्य र न्यायको लागि संघर्ष गर्नेहरुले यसप्रकारको तमाम अन्याय, अत्याचार एंव षड्यन्त्रको मुकाबिला गरेरै सफलता प्राप्त गरेको ईतिहास साक्षी रहेको स्मरण गर्दै सत्यको लागि अन्तिम सम्म संघर्ष गर्ने संकल्प को साथ अगाडी बढौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *