डा. बाबुराम भट्टराई ।
हालैको इलाम र बझाङको उपनिर्वाचनको परिणामलाई हेरेर नेपाली राजनीति पुनः पुरानै संसदवादी पार्टीहरूको पोल्टामा फर्कियो भन्ने भाष्य जोडतोडका साथ प्रचारित गरिनु भ्रमपूर्ण छ । वास्तवमा यो पुरानाहरूको आकर्षण र सफलताको प्रतीक हैन वरू नयाँ वा वैकल्पिक पार्टीहरूको कमजोरीको प्रतिबिम्ब हो । देशका गम्भीर संरचनात्मक समस्याहरू – भूराजनीतिक पासो, आन्तरिक जातीय÷क्षेत्रीय अन्तरद्वन्द्व, राजनीतिक अस्थीरता, अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्र, सर्वव्यापी कुशासन र भ्रष्टाचारको क्यान्सर आदि–हल हुँदै गएको भए लामो समयदेखि सत्तामा आलोपालो रजगज गर्दै आएका पुराना पार्टीहरूको पुनर्जागरण र त्यसप्रति जनताको आकर्षणको रूपमा व्याख्या गर्न सकिन्थ्यो ।
तर यथार्थ त्यस्तो हैन । देशका संरचनात्मक समस्या झन् पेचिलो बन्दै गैरहेछन् । ती समस्या छिटो र दिगो रूपमा हल गर्न सक्ने वैकल्पिक राजनीतिक पार्टी र नेतृत्वको अभावमा मतदाताले पहिलेदेखि भावनात्मक रूपमा जोडिदै आएका पुराना पार्टीहरूलाई परित्याग नगरेका मात्र हुन् । किनकि राजनीति कहिल्यै पनि शून्यमा बस्दैन । अतः देशका उपरोक्त संरचनात्मक समस्या समष्टिगत र दिगो रूपमा हल गर्नसक्ने वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यकता घटेको हैन बढेको छ । भविष्यमा झन् बढेर जानेछ। यो स्थितिमा पुराना शक्तिहरूले विजयोत्सव मनाउँदै गरून् तर नयाँ वैकल्पिक शक्तिहरूले गम्भीर आत्मसमीक्षा गरेर, आआफ्ना टुसाउँदै गरेका अहम्लाई बेलैमा मठारेर, एक आयामिक वा पपुलिष्ट हैन समष्टिगत अग्रगामी एजेण्डा अँगालेर वृहद वैकल्पिक शक्ति निर्माण र ध्रुवीकरण अभियानमा लाग्नैपर्छ । नत्र देश र जनताको सास्ती अझै लम्बिनेछ ।
