ओली-नेपालबीच फेरि बढ्यो तिक्तता, गठबन्धनमा गडबड

काठमाडौं । नेकपाकालीन विवादमा केपी शर्मा ओली एकातिर अनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अर्कोतिर थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि ओली र प्रचण्ड अलग अलग पार्टी राजनीतिमा क्रियाशील भए । यसपछि नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरे । पार्टी विभाजन गरेर हिँडेपछि ओली माधव नेपालसँग निकै रिसाए । कतिसम्म भने माधव नेपालको नाम लिँदा पनि आफूले दुईपटक मुख कुला गर्ने गरेको सार्वजनिक मञ्चमै बताउँथे । एकले अर्कालाई तल्लोस्तरको गालीगलौज गर्दै रहे । तर गत फागुनमा सत्ता समीकरणमा एकाएक नाटकीय परिवर्तन भयो । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको समीकरण तोडेर एमालेसँग सत्ता समीकरण गरे । त्यसपछि भने फेरि माधव नेपाल र ओली नजिकिएका थिए । अर्थात् सत्ता समीकरणमा सहभागी हुन आग्रह गर्दै एमाले अध्यक्ष ओली माधव नेपाललाई भेट्न उनको निवास नै पुगे ।

यो भेटपछि माधव नेपाल यो सत्ता समीकरणमा सहभागी हुन तयार भए र उनको पार्टी सरकारमा सहभागी भयो पनि । लामो तिक्ततापछि ओली र नेपालबीचको सवादहीनता तोडिएको थियो । यसपछि दुई नेताबीचको भेट बाक्लियो पनि । तर यो संवादहीनता लामो समय टिक्न सकेन । सत्ता घटक दलहरुबीच सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । तर पछिल्लो समय आएर ओली प्रचण्डले उसलाई मुख्यमन्त्री नदिने बताएपछि माधव नेपाल ओली प्रचण्डसँग सशंकित भए र उनले आफ्नो पार्टीले मुख्यमन्त्री नपाए गठबन्धन छाड्ने चेतावनी दिए ।

नेपालको चेतावनीपछि ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाए । उनले काँग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन माधव नेपालले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाए । उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रीय समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर पनि गरे ।

माधव नेपालले गठबन्धन छाड्ने धम्की दिएपछि एमाले समाजवादीलाई मुख्यमन्दी दिन तयार भयो र दीर्घ सोडारी मुख्यमन्त्री बनेका छन् । तर सोडारीको सरकारमा एमालेले नजाने निर्णय गरेको छ । यसबाट तत्काललाई सत्ता गठबन्धनको संकट टरेको देखिएपछि यसले भित्रभित्र भने उग्ररुप लिन थालेको छ । यो कुरा एमाले अध्यक्ष ओलीले शनिबार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र शनिबारै माधव नेपालले व्यक्त गरेका विचारबाट स्पष्ट हुन्छ । परिषद बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै गएको निर्वाचनमा कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरे । उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो। हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो।’

ओली यसरी प्रस्तुत भइरहँदा शनिबारै पार्टीको एक कार्यक्रममा माधवकुमार नेपाल ओलीप्रति आक्रोशित हुँदै थिए । उनले ओलीलाई राप्रपाको मतले चुनाव जित्नेले ठूला कुरा गर्न आवश्यक नरहेको चेतावनी दिए । उनले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतवानी समेत दिए । उनले भने, ‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ । चुनाव जित्दा राप्रपाको भोटबाट जित्ने, अनि अहिले कुरा ठूलाठूला गर्ने ? देख्या छैनौं र ?’

नेपालले लुम्बिनी र बागमतीमा विनाविभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाएका छन् । सबैको भूमिका सकारात्मक भएमात्र आफूहरु समारात्मक भूमिका खेल्ने नेपालले बताइरहेका छन् । लामो तिक्तताबाट संवादमा आएका ओली र नेपालबीच फेरि सुरु भएको वाकयुद्धले कतै यो गठबन्धन पनि टुट्ने हो कि भन्ने आशंका भने बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *