एजेन्सी । इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । आइतबार राति भएको खेलमा लखनउले गुजरात टाइटान्सलाई ३३ रनले हराएको हो ।
जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा अलआउट हुँदै १ सय ३० रनमा समेटिएको हो । गुजरातको लागि साइ सुदर्शनले ३१ र राहुल टेवाटियाले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् ।
लखनउको लागि याश ठाकुरले ३.५ ओभरमा एक मेडन राख्दै ३० रन दिएर पाँच विकेट लिंदा कुर्नाल पान्ड्यले तीन आत्था नाभिल उल हाक र रवि विश्नोईले समान एक/एक विकेट लिए ।
यसअघि घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । लखनउको लागी मार्कुस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए ।
गुजरातको लागि उमेश यादव र दर्शन नालाकान्डेले समान दुई/दुई विकेट लिंदा रसिद खानले एक विकेट लिए ।
जितसँगै लखनउ ४ खेलबाट ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एक खेल बढि खेलेको गुजरात ४ अंकको साथ सातौँ स्थानमा रहेको छ ।
आइतबारनै भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै मुम्बईले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
जितसँगै मुम्बई ४ खेलबाट २ नाकजोड्दै आठौँ स्थानमा उक्लिएको छ भने एक खेल बढि खेलेको दिल्ली दुई अंकको साथ पुछारमा छ ।