तब सारा हल उठ्यो नेपाली राष्ट्रगान सुनेर

डा. युवराज संग्रौला ।
२०१६ इ.स. राजस्थान । राजस्थान युनिभर्सिटी जवाहरलाल  नेहरु अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन केन्द्रले ‘नेपाल भारत संबन्ध’ का बारेमा एउटा आख्यान दिन बोलाएको थियो । सानो गोलमेच सेमिनार जस्तो होला भन्ने ठानेको थिंएँ, तर ४०० जनाको खचाखच हलमा कार्यक्रम रहेछ र केन्द्रका निर्देशक र उपकुलपतिको पनि उपस्थिति रहेछ । अलि मन धरमर भयो । तरपनि सत्य कुरा बोल्ने आँट गर्नुपर्छ भन्ने ठानें र ‘नेपाल जस्तो पेचिलो भूराजनीति भएको देशले विज्ञतापुर्ण तर्कको बलमा रास्ट्रको स्वाधीनता’को सुरक्षा गर्नुपर्छ भन्ने दृष्टिकोणलाई स्पष्ट ढंगले राख्नु उचित देखें ।

१. हाम्रो देशमा भौतिक उपनिवेशी शक्तिको उपस्थिति भएन । साम्राज्यवादी आक्रमण भयो र देशले ठूलो भुभाग गुमाएपनि, युद्धमा बृटिश साम्राज्यवादलाई राजधानी प्रवेश गर्न दिएन र एकअर्थमा नेपोलियनलाई पनि हराएको यो साम्राज्यवादलाई नेपालले पराजित गर्यो । तर नेपालमा रेजिडेन्टका नाममा खुलेको बृटिश राजदुतावासले नेपालको राजनीतिमा फोहोरी थुतुनो गाड्यो । माथवर सिंह मारिए, भिमसेन थापा मारिए, फत्तेजंङ्ग मारिए, गगन सिंह मारिए । राणा निरंकुश साशनको उदय भयो र १०४ वर्ष देश अन्धकारमा बांच्नुपर्ने भयो।

२. यो समयदेखि नै स्वाधीन नेपाललाई आफ्नो ‘आत्मनिर्णयको अधिकारको’ प्रयोग गर्न अवरोध गरियो । सुगौली सन्धिदेखि आजसम्म २१० वर्ष पुग्न लाग्दा पनि देशको इतिहास अपमानित छ । सन् १८१५ को मलौन केन्भेन्सन, १८१६ को सुगौली सन्धी, मुख्तियारहरुको हत्या, गोर्खा भर्ती, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बृटिशका अधिनमा राख्ने सन् १९२३ को शान्ति तथा मैत्री सन्धी, गोर्खा भर्ती सम्बन्धी १९४७ को त्रिपक्षीय सम्झौता, १९५० को सन्धी, कोशी तथा गण्डक सम्झौता, महाकाली सम्झौता, र अहिले एमसीसीसम्म आइपुग्दा ‘नेपालको आत्मनिर्णयको अधिकार’ का विरुद्ध अनेक प्रपन्च भएका छन् ।

३. यिनै पृष्ठभुमिबाट बोल्न थालें । नेपाल दक्षिण एसियाको पहिलो र सबैभन्दा पुरानो देश हो भन्ने कुरा राखें । नेपाल, बांग्लादेश र भारतमा विकास भएको, सिन्ध र कान्दाहारमा विकास भएको वैदिक सभ्यता दक्षिण एसियाको हो अतः ‘इन्डियन सभ्यता’ होइन भन्ने पनि राखें ।

४. लेक्चर सकियो । अब सुरु भयो प्रश्न र उत्तर ।

. ‘नेपाल आतंककारीको अड्डा भयो । प्लेन हाइज्याक भयो । किन नेपाल पाकिस्तानलाई सहयोग गर्छ?’ मैले भने ‘प्लेन लखनौं माथिबाट हाइज्याक भयो । अमृतशहर गयो । भारतले तेल भर्दियो । आतंककारीलाई टिकट इन्डियन एयरलाइन्सले बेच्यो । हाम्रो के दोष ? तर इन्डियन गैरजिम्मेवार मिडियाले नेपाल माथी झुठो संचारद्वारा अन्याय गर्यो ।

६. ‘काठमाडौं बाट आतंककारीहरु बम्बे आएर बम विस्फोट गरे ।’ अर्को प्रश्न गरे । ‘काठमाडौंबाट रक्सौलसम्म हाम्रो जिम्मेवारी हो । तर रक्सौलबाट बम्बे आएका आतंककारीलाई इन्डियन सेक्युरिटीले किन समातेन ? गल्ती मेरो देशको सुरक्षा प्रणालीमा होइन । तपाईंहरुले आफ्नो प्रणालीमा पुनःमूल्यांकन गर्नु पर्छ । सिमाना बन्द गर्न नदिने भारतीय रणनीति र सुरक्षा प्रणालीमा दोष छ । आफ्नो कमजोरी लुकाउन सानो देशमाथी आरोप लगाउने भारतस्य प्रवृत्तिमा सुधार हुनुपर्छ ।

७. ‘चीनको कारणले नेपाल बाट भारतलाई सुरक्षाको चुनौती छ। के भन्नुहुन्छ?’ ‘मेरा देशका नागरिक तपाईंहरुको सिमाना रुँघेर बसेका छन् । नेपालले भारतको सुरक्षा गर्न आफ्ना नागरिकको रगत बगाएको छ।’ मेरो उत्तर थियो ।

८. कार्यक्रममा इन्डियन रिजर्भ फोर्सको बाजाटोली थियो, जसले भारतीय राष्ट्रगान बजायो । अनुहार नेपाली जस्तो । मेरो जवाफ सुन्दा उनीहरुका अनुहारमा मुस्कान देखिन्थो।’ मैले सोधें ‘आप लोग नेपाल से हो?’
‘हो।’
‘नेपाली राष्ट्रगान बजाउन आउँछ?’
‘बजाउनु हुन्छ ?’
‘हुन्छ सर।’

नेपाली धुन बज्यो । मसँग गएका नेपाली विद्यार्थी उठे । तब सारा हल उठ्यो नेपाली राष्ट्रगान सुनेर । मेरा छेउमा बसेका उपकुलपति पनि उठे । बाहिर गएपछि सयौं विद्यार्थी अटो लिन आए । यदि मुटुमा राष्ट्रप्रेम छ र दिमागमा राष्ट्रको रक्षा गर्ने आँट छ नागरिकमा भने, देश ठूलो र सानो हुन्न । भिडियो अहिलेले पनि मेरो वालमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *