काठमाडौँ । घरेलु टोली नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड ए ले एक खेल अगावै टी–२० शृंखला जितेको छ । शनिबार भएको दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गरेको हो।
योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको हो । शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो । आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो । नेपालका देव खनाले सर्वाधिक ४७ रन बनाए। २५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
बसिर अहमद २७, कप्तान विनोद भण्डारी २६, लोकेश बल २५, आरिफ शेख १४ र कमलसिंह ऐरी ११ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन । आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । फिओन ह्यान्ड र थोमस मेयरले २/२ विकेट लिए। म्याथ्यू फोस्टर र ग्यारेथ डेनालीको नाममा १/१ विकेट रह्यो।