बुद्धको जन्मस्थलको प्रवर्द्धन गर्न प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेला हुने

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति मेला आयोजना गरिने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले बताएको छ ।

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरुपमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा साँस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले पत्रकार सम्मेलनमा बताए ।

मेलाअन्तर्गत आगामी शुक्रबार विहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा करिब दुई घण्टा अवधिको लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षुभिक्षुणी र ४ सय जना सर्वसाधारण गरी पाँच सय जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।

त्यसैगरी शनिबार विहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाइने छ । कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् ।

साँस्कृतिक प्रस्तुतिका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनि छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिनेछन् । करिब २ हजार दर्शकले सो सांस्कृतिक कार्यक्रम हेर्ने अनुमान गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी कोषका सदस्यसचिव सानुराजा शाक्य र नेपाल पर्यटन बोर्डकी कामु प्रमुख कार्यकारी अधिकृत नन्दिनी थापाले लुम्बिनीमा आयोजना गरिने शान्ति मेलाले ध्यान, धर्म, संस्कृति, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने उल्लेख गरे । सो अवसरमा विभिन्न विधाका कार्यक्रममा लागि तयार पारिएका फरक फरक लोगोहरू पनि सार्वजनिक गरिएको थियो ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *