काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड वुल्भ्स(ए) ले आज नेपाल ‘ए’को सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।
आयरल्याण्ड वुल्भ्सले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग दुई खेलको टी-२० सिरिज खेलेको थियो । उक्त सिरिजमा आयरल्याण्डले दुवै खेल गुमाएको थियो । त्यसैले आयरल्याण्ड आजको खेलमा जित निकाल्दै नेपाली भूमिमा पहिलो सफलताको खोजीमा हुनेछ ।
यता नेपाल ‘ए’ले भने इतिहासमै दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपाल ‘ए’ले क्यानडा ११ सँग एकदिवसीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले क्लिन स्विप गरेको थियो । नेपाल ‘ए’को लागि यो पहिलो टी-२० सिरिज हुनेछ ।
नेपाल ‘ए’को कप्तानी विनोद भण्डारीले गर्नेछन् । नेपाली टोलीमा विनोदसँगै लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।