गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले बुधबार भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेका छन् ।

मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औँल्याए । उनले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम प्रयास भइरहेको जानकारी दिए ।

त्यसक्रममा नेपालको बृहत्तर हितका लागि सधैँ सहकार्य हुने भन्दै राजदूत सोङले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औँल्याए ।

उनले कानुन कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभुवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा चिनियाँ राजदूतले समकक्षी वाङ छियाहङका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *