काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ । बुधबार राज्य व्यवस्था समितिको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताएका हुन् ।
उनले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’
बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए । त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन् ।
त्यसैगरी उनले कांग्रेस सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको भनेर कुन कानुन अनुसार सभामुखलाई पत्र लेखिएको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘गम्भीर प्रकृतिका फौजदारी अभियोगमा समातियो भने त्यसको जानकारी तुरून्तै संसदलाई संसद चलिरहेको बेला होस् वा नचलेको बेला होस् संसदलाई जानकारी दिने प्रबन्ध छ। संसद चलेको छैन भने सूचना पाटीमा टाँस्नुपर्छ । तर कुन कानुन अनुसार पत्र लेखियो ?’
बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराए ।
उनले भने, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ?’ समितिले आज गृहमन्त्री लामिछानेलाई बोलाएको थियो ।