अमेरिकी राजदूत थम्प्सनले भने-नेपालमा धार्मिक अनास्था फैलाउने अमेरिकाको कुनै नीति छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि अमेरिकी राजदूत डिआर थम्प्सनले भेटवार्ता गरेका छन् । बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । कुराकानीका क्रममा अमेरिकी संसदमा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी सम्बन्धि छलफल भएको विषयमा अध्यक्ष लिङ्देनले राजदूतसँग जिज्ञासा राखेका थिए ।

राजदूतबाट नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको अध्यक्ष लिङ्देनलाई जानकारी गराउँदै अमेरिकी सहयोग विभिन्न क्षेत्रको अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको प्रष्ट पारे । साथै, नेपालको धार्मिक सदभाव, एकता उत्कृष्ट रहेको विचार राख्दै नेपालबाट चोरी भइ अमेरिका पुर्याइएका मूर्तिहरु नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए ।

भेटका अवसरमा राप्रपाले सरकारलाई ४० बुँदे माग पेश गर्दै काठमाण्डौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको विषयमा समेत कुराकानी भएको छ । छलफलका क्रममा सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानी लगायतका सन्दर्भमा पार्टीको नीति तथा ०४६ सालपछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक व्यक्तिहरुको सम्पत्ति छानविन गरिनुपर्ने र त्यसको थालनी आफू स्वयंबाट गर्न सरकारलाई संसद मार्फत आह्वान गरेको विषयमा समेत कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *