नेपालको वर्तमान भोटतन्त्रीय लोकतन्त्र हाम्रो इतिहासमा मौलाएको सामाजिक लोकतान्त्रको बध गर्दै मौलाएको हो

डा. युवराज संग्रौला ।

१. आजको मेरो/हाम्रो यथार्थ बद्ल्नुको बिकल्प छैन। यो नै आजको यथार्थ हो।

२. आजको यथार्थ त हिजो ‘विगत मा उम्रिएको हो, हुर्किएको हो।’ त्यसैले ‘हिजोको यथार्थको बिहंगम विश्लेषण’ नगरी अनि त्यसको कारणको जातपात नालीबेली पत्ता नलागाइ आज हाम्रो समुन्नेको यथार्थ चिनिदैंन ।

३. हिजो हामीले हाम्रो शिक्षाको जग भत्काउँदै, हाम्रै समाज सभ्यता र इतिहासको बध गर्ने कथ्य र संवादहरुले सुज्जित पाठ्यक्रम बोकेको शिक्षा लाद्यौं हाम्रा नानीहरुमाथि, उनीहरुलाई दुई वर्षदेखि ‘अंग्रेजी सिकायौं, गीतबाट।’ आमा बाबु हजुरआमा हजुरबुवा, दिदी, फूपू काका मामा माइजुका बोली, भाका, ठट्टा गीत बोल्ने भाषाको बध गर्यौं, अनि त्यो बालकको दिमागमा चिन्तन र मन्थनको क्षमताको बध भयो, अनि उसलई एउटा मासु र रगतको मान्छे मात्र बनायौं, उसलाई सोच बिचार र सामाजिक भावनाको मानिस बनाएनौं । कहाँबाट बाँच्छ त त्यसो भए देशभक्ति ? हाम्रो विगतको एउटा यथार्थता हो ‘देशभक्ति, देशप्रेम, राष्ट्रिय मनोविज्ञानको बध।’ आजको अराजकता त्यही देशभक्तिको चिहानमा उम्रिएको छ ।

४. हाम्रो समाज मा सामाजिक सद्भाव थियो, गाउँको कुलो, सडक, स्कुल, वन जोगाउने साझा उपयोग गर्ने ‘सार्वजनिक भलाई’का लागि सहकार्यको पथबाट हाम्रो इतिहास वर्तमानतिर आयो । तर ‘सामाजिक लोकतन्त्रको बध गर्दै, समाजवादी कांग्रेसका घरमा नवउदारवादको रुख उम्रियो र वामपन्थीहरुले त्य रुखमा फलेका फल खाए । आज देशको अर्थतन्त्र ११ जना मान्छेका हातमा छ । मानिसको जीवनमाथि कर्पोरेट पूँजीवादको अधीन छ । पैसा र राजनीतिको विवाह भै जन्मिएको ‘भ्रष्टाचार’ नामको संन्तानलाई राजनीति दलहरूले पालणपोषण गरिरहेका छन् । त्यससैले कहिले कुन गठबन्धन, कहिले कुन गठबन्धन बन्छन् । यो समस्या आजको होइन, विगतमा उम्रिएको हो । विचार त राजनीतिको चेतना हो, चेतनाा नै आत्माको सार पनि हो । अनि चेतनानै मरेपछि, शरीर कुहिन्छ नि । नेपालको वर्तमान भोटतन्त्रीय लोकतन्त्र हाम्रो इतिहासमा मौलाएको सामाजिक लोकतान्त्रको बध गर्दै मौलाएको हो, त्यसैले हामीलाइनै डसिरहेको छ।

५. समता, स्वतन्त्रता र बहिर्गमन समाजको परिकल्पना, नेपालीहरुको साझा सपना र समृद्धि, हरित संसार र जन्मेपछि उमेर पुगेर मर्न पाइने जनचाहनाको रक्षा गर्ने राजनीति ‘आज देशले बोकेको लाजनीतिमा परिणत भएको छ र ?’ व्यापारी नेता छ, नेता व्यापारी। राजनीतिमा भ्रष्टाचार छ अनि भ्रष्टाचारमा राजनीति । राज्यका संस्थामा हड्डी खान र्याल चुहाएकाहरुको जमात छ । त्यसो भए हामी नागरिक हौं ? होइनौं । हामी कठपुतली मलामी वा “ हामी टेराकोटा मानिस भएका छौ।’

६. आज हामी देशमा इतिहासमा उम्रिएका तीन वटा समस्याको फन्दामा छौं ।

(क ) हामीले हाम्रा ६ वटा सभ्यता (सिजा, मगरात, नेवा, मिथिला, किराँत र थार) भित्र हुर्किएका संस्कार, भाषा र प्रवृत्तिका बीचको सद्भाव (हार्मोनी) लाई भत्काउने सामान्तवाद (रुढिवाद, कपट र शोषण)ले निर्माण गरेको उच्च निच्च (हाइरार्की) मा विभाजन गर्ने सामाजिक रोगको निदान गर्न सकेनौं । वर्तमान लोकतन्त्रका नाममा रहेको खच्चडतन्त्र (युवराज आचार्यज्यूबाट सापट लिएको शब्द) ले देशमा लुटतन्त्र स्थापित गर्यो । अतः यो लुट्तन्त्र बदल्न इतिहासमा गरेको गल्तीको उन्मुलन गर्नु पर्छ।

(ख ) उदारवादले ‘एक दर्जन व्यापरी र एकदर्जन नेता’ को राजनीति र अर्थतन्त्रमा एकाधिकार निर्माण गर्यो र आम जनतालाई अभावको खाडलमा हाल्यो। पलायन, मन्दी, भ्रष्टाचार र निरासा यसैका अबैध सन्तान हुन् । ‘वर्गीय समाजको जग निर्माण गर्ने बृटिस मजोरेटरियन डेमोक्रेसीको बीउ रोपेर कांग्रेसले प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टले वैज्ञानिक समाजवादको बध गरे। तर हामीले खोजेको लोकतन्त्र त वर्गहीन समावेशी नागरिकतन्त्र हो । त्यसैले इतिहासमा गरिएको गल्ती पहिचान गर्नुपर्छ ।

(ग) २००७ सालमा राणाशाहीको पतन भएपछि पनि हामीले “स्वाधिन सार्वभौम नेपालमा राजनीति, अर्थतन्त्र र सांस्कृतिक संरचनामा विदेशी हस्तक्षेप र प्रभुत्वबाट मुक्ति पाएनौ र आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गर्न सकेनौं । आज कथित भोटन्त्र ‘विदेशीको आराधना गरेर’ सत्ताको दोहन गर्ने राजनीति दुकानमा परिणत भएको छ। यो दुकानमा कहिले स्वार्थको करारनामा, कहिले गाँजाको भतेर, कहिले मदारीको चटक, कहिले कुस्लेको गुनासो कहिले कोठीको मुजुरा घन्किन्छ ।

७. बस, कोही भागिरहेका छन्, चेतना शून्य । कोही लोभी पेटभर्ने आशमा झोला थापेर बसेका छन् । कोही खोस्ने दाउरा बोकेर कराउँदैछन् । कोही मदारीलाई ताली बजाउँछन् । समाज रनभुल्ल छ । जनता त केवल खेलाउना मात्र हो।

८. चाणक्य जन्माउने आमालाई अझै प्रसव वेदना शुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *