काठमाडौं । माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डमाथि परिवारवादको मोह बढेको आरोप लागेको छ । आफ्नो भाइलाई राष्ट्रियसभा अध्यक्ष बनाउन लागेको भन्दै प्रचण्डमाथि यस्तो आरोप लागेको हो । हुन त यस्तो आरोप प्रचण्डलाई लागेको यो नै पहिलो पटक भने होइन । प्रचण्डले २०७८ चैत २५ गते दाहाललाई राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदबाट मनोनित गराएका थिए । यस्तो निर्णय लिँदा प्रचण्डमाथि उतिबेलै परिवारवादको आरोप लागेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला भनेका थिए, ‘नारायण दाहाल अच्छा खास्सा गुरिल्ला हुनुहुन्थ्यो, जनयुद्धमा लागेका अरुलाई वेवास्ता गर्दै भाइलाई राष्ट्रियसभा सदस्य बनाइनु गलत थियो । यत्रोविघ्न घाइते, शरीरमा गोली लिएर हिँडेकालाई पन्छाएर आफ्नै भाइलाई सदस्य बनाउने मति कस्तो हो ?’
नारायण दाहालबारे केपी ओली
— Bipendra (@Bipendraa) March 10, 2024
जनताको आलोचनाप्रति पूरै बेवास्ता गर्दै प्रचण्डले भाइलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय पार्टीबाट गराएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । तर सत्ता गठबन्धनको प्रष्ट बहुमत भएकाले माओवादीको उम्मेदवारको जित पक्का जस्तै छ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल वा भर्खरै चुनाव जितेर आएकामध्ये कसैलाई उम्मेदवार बनाउनुपर्ने मत माओवादीभित्र थियो । तर प्रचण्डकै चाहना अनुसार दाहाललाई उम्मेदवार बनाउने निर्णय भएपछि पार्टीपंक्तिमा असन्तुष्टि देखिएको छ । कांग्रेसँगको गठबन्धन तोड्दासमेत पार्टी अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट केही नेताले दाहाललाई राष्ट्रियसभाको उम्मेदवार बनाएकोप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्ड नअघाउन्जेल परिवारवादको मोह चलिरहने बताएका छन् । उनले भनेका छन्, ‘कामरेडको झुसिलो डकार नआउन्जेल हुने यस्तै हो !’
हुन त पार्टी उपमहासचिव जनार्दन शर्माले नेताहरुको कार्यविभाजनप्रति पार्टीको बैठकमा फरक मत राख्दै अध्यक्ष प्रचण्डको परिवारवाद मोहको आलोचना गरेका थिए । बुहारी विना मगरलाई सुदूरपश्चि प्रदेशको सहइन्चार्ज बनाएकोमा शर्माका आपत्ति थियो । उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको बताएका थिए । उनले फरक मत राख्दै भनेका छन्, ‘प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ ।’ शर्माले फरक मत राखेको केही दिनपछि नै नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार प्रचण्डले बनाएका हुन् ।
केही दिनअघि प्रचण्डलले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका थिए । उनले भनेका थिए, ‘म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ । माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गड्गडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले प्रचण्डको उथलपुथललाई यसरी उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘उथलपुथल=उथलमा म र मेरा, पुथलमा म र मेरा ।’
पत्रकार अनिल गिरी सामाजिक संजालमा लेख्छन्, ‘भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेससँगको गठबन्धन कुर्बानी गरेको भनेर बुझ्न खासै गाह्रो भएन ।’
