गठबन्धन टुट्नुमा को जिम्मेवार ?

काठमाडौं । सरसरती हेर्दा नेपाली काँग्रेस र माओवादी वीचको सत्तागठबन्धन टुट्नुमा पार्टी सभापतिका हिसाबले शेरबाहदुर देउवालाई जिम्मेवार देख्नु स्वभाविक हो । सभापति देउवाले प्रचण्डको चतुरयाइँ वा धोकाधडीको पूर्वाभ्यास पाउन नसकेको पनि भन्न सकिन्छ । तर, पदीय हिसाबमा नैतिक जिम्मेवारी काँधमा परे पनि सभापति देउवाकै कारण काँग्रेस र माओवादी वीचको सत्तागठबन्धन संकटमा परेको निष्कर्ष निकालियो भने त्यो देउवामाथि अर्को राजनीतिक अन्याय हुन जान्छ ।
फागुन २४ को संसद वैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्नुका जुन जुन कारण पेश गरे, त्यस आधारमा काँग्रेसका विपक्षी खेमाका नेता शेखर कोइराला र उनले लिएका गठबन्धन विरोधी हर्कत मुख्य रुपमा काँग्रेस, माओवादी गठबन्धन टुट्नुको कारण देखिन्छ । कोशी प्रदेश सरकार गठन र राष्ट्रिय सभा चुनावमा माओवादीमाथिको अन्तरघात शेखर कोइरालाको डिजाईनमा भएका गठबन्धन विरोधी कदम थिए । सभापति देउवासंगको इगोले प्रचण्डलाई देखाईदिने शेखर कोइरालाको तरिकाले अन्ततः पार्टीलाई देशभर विपक्षी बेन्चमा धकेलिदिएको छ ।

महामन्त्री गगन थापा आफूलाई प्रधानमन्त्री प्रचण्डको अघोषित सल्लाहकार कै रुपमा प्रचारित गराउँथे । तर उनले पछिल्लो गोदावरी महासमिति वैठकमा आगामी चुनावमा काँग्रेसले कसैसंग गठबन्धन नगर्ने भन्दै जुन नीति लिए, यसले पनि सभापति देउवा भन्दा महामन्त्री गगनका कारण प्रचण्ड चिढिएको स्पष्ट छ । यो कुरा माओवादी नेताहरु र प्रचण्डले बारम्वार स्पष्ट पार्दै आएका छन् । जब प्रचण्डलाई शसंकित पार्ने हर्कत शेखर र गगनहरुले गरिरहँदा सभापति देउवाले गठबन्धन जोगाउन सकेनन् भन्ने आरोप तार्किक देखिदैन ।

काँग्रेस महासमिति वैठकमा देशलाई पुनः हिन्दूराज्य बनाउने प्रस्ताव उपर सभापति देउवाले छलफल गराएका थिएनन् । सभापति देउवाको ईच्छा विपरित नै गोदावरी महासमिति वैठकमा केन्द्रीय नेता शंकर भण्डारीको नेतृत्वमा केही केन्द्रीय नेता र महासमिति सदस्यहरुले देशलाई पुनः हिन्दूराज्य बनाउने एजेण्डा अगाडि बढाएका थिए । त्यसैले यो मुद्धामा पनि देउवा रमिते मात्र बनेका थिए । व्यक्तिगत रुपमा पनि सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड आपसमा कुनै तिक्तता वा इगो वार नभएका नेताहरु मानिन्छन् । नीतिगत रुपमा नै काँग्रेसले माओवादीलाई बिझाउने र झस्काउने मुद्धाभित्र चलखेल गर्न थालेपछि माओवादी दल र प्रधानमन्त्री प्रचण्ड काँग्रेससँग टाढिदै गएको घटनाक्रमहरुले देखाएका छन् ।

त्यसैले सत्ता सहयात्रामा काँग्रेस र माओवादी अहिले एक नदीका दुई किनार हुनुमा पार्टी सभापति भन्दा बढी सरकारमा रहेका मन्त्रीहरु, पार्टी महामन्त्री गगन थापा, नेता शेखर कोइराला र शंकर भण्डारीहरुको कदम नै निर्णायक रहेको तथ्यहरुले देखाएका छन् । हाल सत्तामा सहकार्य नगरे पनि काँग्रेस र माओवादीले जारी शान्ति प्रक्रियाको अन्तिम तार्किक निष्कर्षका लागि पनि हातेमाले गर्नैपर्ने वाध्यकारी अवस्था भने जीवित नै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *