नयाँ शिक्षामन्त्री र शिक्षाका सवाल

केशवप्रसाद भट्टराई ।
(व्यक्तिगत आधारमा नाचिनेकोले) उनका प्रस्तुतीहरूका आधारमा भन्दा देशले वर्षौँ पछि अत्यन्त योग्य शिक्षामन्त्री पाएको छ । सम्भवत वर्तमान मन्त्री परिषदमा (उनका प्रस्तुतिहरूका आधारमा नै ) उनी सवैभन्दा योग्य मन्त्री पनि हुन् । अत्यन्त सघन गृहकार्य गरेर उच्च वौद्धिक क्षमता प्रदर्शन गर्दै आफूलाई प्रस्तुत गर्ने सुमना श्रेष्ठसँग हचुवा र हलुका आधारमा सस्ता मागहरू राख्न अभ्यस्त तर राजनीतिकरूपमा बलिया हाम्रा शिक्षा सरोकार समूहहरू, निरन्तर अर्थहीन नयाँ प्रयोगहरू मात्र गराइरहने– शिक्षामा सारभूत परिवर्तनमा कुनै सरोकार नभएका उडन्ते शिक्षाविदहरू र हावादारी संवैधानिक व्यवस्था वीच नयाँ शिक्षा मन्त्रीले राष्ट्रका शैक्षिक समस्या र चुनौतीहरूलाई कसरी समाधानमा लैजालिन् र सम्बोधन गर्लिन् मेरा लागि ठूलो जिज्ञासाको विषय बनेको छ ।

र पक्कै उनले बुझेकी छिन् – संसदमा बोले जस्तो, टिभी अन्तर्वार्तामा प्रस्तुत भए भन्दा धेरै कठिन हो नेपालमा शिक्षा मन्त्री हुन । र नेपालको अर्थ, शिक्षा र परराष्ट्र मामिलाको क्षेत्रमा जति जटील र कठिन समस्या र चुनौती अन्य कुनै क्षेत्रमा छैनन् ।

तर नयाँ अर्थ र परराष्ट्र मन्त्री त सस्ता राजनीतिक नारा र सतहमा नै लडिबुडी गर्न रुचाउने भएकाले उनीहरूबाट मुलुकले खासै कुनै अपेक्षा गरेको होला जस्तो लाग्दैन । प्रधानमन्त्री, स्वयं उनका पार्टी अध्यक्ष र सरकारको चरित्रका कारण नयाँ शिक्षामन्त्रीको योग्यता र सघन गृहकार्य गर्न सक्ने उनको संयम र साहसले मात्रै पनि धेरै ठूलो प्रभाव नपार्ला । उनीहरू नै उनका वाधक बन्लान् । तर देशको शिक्षालाई स्वार्थ समूहको नितान्त निजी स्वार्थको बन्दी बन्नबाट रोकेर, शिक्षालाई सस्ता राजनीतिक नारावाजीबाट मुक्त पारेर, देशको शिक्षालाई शिक्षाकै बाटोमा दुई चार पाइला हिँडाउन मात्रै सकिन् भने मात्रै पनि देशलाई उनले ठूलो योगदान दिएको मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *