अनुसन्धान नहुँदै अफवाह फैलाउने होडबाजी

नारायण गाउँले ।
धेरै मित्रहरूले फेसबुकभरि ती अबोध बालिकाको तस्बिर शेयर गर्दै ‘बलात्कारपछि हत्या भएको’किटानी गर्नुभयो । त्यत्तिमात्रै होइन, सिङ्गो घटनाक्रम र दोषीलाई लुकाउने षड्यन्त्रसम्मको एकएक विवरण प्रस्तुत गरेपछि नपत्याउनु पनि कसरी । त्यस्तो ’क्रूर, पाशविक र वीभत्स घटना’ले जो कसैलाई पनि हल्लाउँछ । रगत उमाल्छ । केही क्षणहरू निकै तनावमा बिते । चितवनमा पोस्टमार्टमप्रति शङ्का लागेकाले परिवारको आग्रह या मागकै कारण शव काठमाडौं पठाइएको रहेछ । त्यसैले अलिकति ढिलो भएको हो कि ? बुबाको जाहेरीपछि हेडमास्टरसहित केही व्यक्ति पक्राउ परिसकेका रहेछन् । यदि मृतकका बुबाले गरेको दाबी सही हो र स्कुलदेखि प्रशासनसम्म सबै मिलेर यो ‘बलात्कार’को घटना दबाउन खोजिएको हो भने त्यसभन्दा ठूलो विडम्बना के होला ? विगतमा यस्ता घटना हुँदै आएकाले पनि आशङ्का जायजजस्तै देखिन्छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटनालाई आत्महत्याका रूपमा लिएको भन्ने बुझियो । उसले थप गम्भीर अनुसन्धान हुँदै गरेको भनेकाले त्यतिन्जेल हाम्रो निष्कर्षले अर्थ नराख्ला । यति संवेदनशील र मार्मिक विषयमा प्रहरी र अनुसन्धानलाई सघाउनु हाम्रो नागरिक दायित्व पनि हो । अनुसन्धान गर्ने दक्ष निकाय उही नै हो । हामीले निष्पक्ष, प्रभावकारी र सामयिक अनुसन्धानका लागि दबाब दिनु त हाम्रो सन्दर्भमा आवश्यक र जायज हो, तर नतिजा त अनुसन्धानपछि नै आउला ।
एकमन के लाग्यो भने, यसरी प्रारम्भिक अनुसन्धान पनि नगरी, प्रमाणहरू परीक्षणसम्म नगरी आशङ्काकै भरमा बलात्कार र हत्या भएको किटानीसहित ती कलिली बालिकाको फोटो शेयर गर्नु अर्को अपराध पो हो कि ? फेरि विभिन्न पारिवारिक अवस्था र परिस्थितिबाट मान्छे गुज्रिन्छ । मृतकका बुबाआमा पनि गुज्रिए होलान् । तिनको वैयक्तिक निर्णय र जीवनलाई निर्मम उधिन्ने काम पनि उत्तम नहोला । एकथरी मित्रहरू यता लाग्नुभएको छ ।

घटना सुनसान ठाउँमा भएको पनि होइन । होस्टलमा अन्य विद्यार्थी पनि होलान् । शिक्षक र वार्डेनहरू होलान् । ती सबै बलात्कारी या मतियार पक्कै नहोलान् । प्रहरी, डाक्टर, नर्स, विद्यार्थी, शिक्षक सबै सबै त्यो अबोध बालिकाको विपक्षमा त नहुनुपर्ने हो । फेरि अनुसन्धान नहुँदै एउटा निष्कर्षमा देशभर जनमत तयार भएपछि अर्कै अपराध भएको रहेछ भने पनि त्यो दबिन सक्ने डर हुन्छ । घटनाको प्रकृति र आयाम जे पनि त हुन सक्छ । जो कोही पनि दोषी हुनसक्छ । एकातिर सबैको ध्यान केन्द्रित हुँदा र दबाब बढ्दा वास्तविक दोषी ओझेल पर्न पनि सक्छ । यदि यो केस हाम्रो दाबीभन्दा कथम् कदाचित् अर्कै रहेछ भने त यस्तो संवेदनशील विषयमा हामीले स्वयं मृतकदेखि स्कुल र शिक्षकसम्म सबैप्रति घोर अन्याय गरेका पनि त हुन सक्छौं । सिस्टमले काम गरेको देश भए हामी पनि अलि संवेदनशील भएर सोच्ने थियौं होला । यहाँ बोलेन भने न्याय नपाइने अनुभवले गर्दा नै धेरैले बोल्नुभएको होला । मृतकको आत्माले शान्ति पाओस्, न्याय पाओस् र यो केसको सत्यतथ्य चाँडो बाहिर आओस् । सोच्दा पनि कहाली लाग्ने अपराध गर्नेहरू नछुटून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *