काठमाडौं । गत भदौ १६ गते शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजालमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । उनले सामाजिक संजालमा लेखे, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’ राति मेयरले किन यस्तो लेखे भन्ने सबैलाई कौतुहलता भयो । भोलिपल्ट आइतबार थाहा भयो कि मेयर पत्नी चढेको महानगरको गाडी शनिबार बिदाको दिन पास विना चलाएको भन्दै ट्राफिक प्रहरीले सोधपुछ गरेपछि बालेन यसरी आक्रोसित भएका रहेछन् । सायद बालेनको ठाउँमा कुनै सर्वसाधारणले मुलुकको प्रमुख प्रशासनिक निकायमाथि यस्तो धावा बोलेको भए सायद ऊ अहिले जेलमै हुने थियो । तर बालेनलाई कानुनले छोएन ।
त्यसअघि असारमा बालेनले हिन्दी फिल्म ‘आदिपुरुष’ चलाउन रोक लगाएका थिए । बालेनको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा दायर भयो । अदालतले फिल्म चलाउन नरोक्न आदेश दियो । तर बालेनले अदालतको आदेशप्रति आपत्ति जनाउँदै भने, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।’ अदालतको अवहेलनाको मुद्दामा भने बालेन अहिले तारिख बोकिरहेका छन् ।
त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा नेताहरू पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछाने भ्रष्टाचारको विरोधमा नागरिक समाजसँग मिसिएर प्रदर्शनमा सहभागी भएका थिए । रविको त्यो कार्यशैली बालेनलाई चित्त बुझेनछ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन । सीधै कारबाही गर्नलाई हो, सीधै कारबाही गर्ने नीति बनाउनलाई हो । नयाँ पुरानो सबै नेताहरू चोर हुन्। कसैलाई देशको माया छैन।’
बालेन मनमौजी गर्दैछन्, गरिरहेका छन् । यस्तैमा बुधबार राति आठ बजेको समयमा काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायीमाथि महानगर प्रहरीले बर्बर आक्रमण गरेको छ । महानगर प्रहरीका एसपी मनोज लामिछानेको नेतृत्वमा व्यवसायीमाथि आक्रमण भएको हो । आक्रमण अमानवीय र क्रुर भएको दृष्यबाट स्पष्ट हुन्छ । जाबो शनिबार सरकारी गाडीको दुरुपयोग भयो भनेर ट्राफिक प्रहरीले सोधपुछ गर्दा सिंहदरबारमा आगो लगाउने धम्की दिने मेयरले यो दृष्य एक पटक हेरेर प्रतिक्रिया दिने कि ?
बुधबार दिउँसो काठमाडौं महानगरमा कार्यरत वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले आफूलाई मेयर साहले जिम्मेवारीविहीन बनाएर मानसिक हिंसा गरेको आरोप लगाउँदै सामाजिक संजालमा लामो लेख नै लेखेकी छन् । उनले मेयर बालेनले जिम्मेवारीविहीन बनाउनुको कारणसमेत जानकारी दिन नचाहेको आरोप लगाएकी छिन् । घिमिरेले आफूमाथि महानगरले गरेको ज्यादतीविरुद्ध कानुनी रूपमा अघि बढ्नेसमेत बताएकी छन् ।
सिंहदरबार आगो लगाउँछु भन्दा, नेतालाई चोर भन्दा, अदालतको आदेश मान्दिन भन्दा बालेनले अहिलेसम्म कतैबाट कारबाही भोग्नु परेको छैन । बुधबार फुटपाथका व्यवसायीमाथिको आक्रमण क्रुर नै देखिएको छ । कानुन उल्लंघन गर्नेमाथि महानगरले कानुनी कारबाही गर्न सक्छ । तर बर्बर आक्रमण गर्न पाउँदैन । तर यस्तो बर्बर आक्रमण हुँदा पनि मजदुरका पक्षमा काम गर्ने भन्ने दलहरुले एउटा विज्ञप्ति निकालेर विरोध समेत गरेका छैनन् ।
गत पुसमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भयो । सरकारले जाँचबुझ आयोग गठन गर्यो र आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै एमाले, रास्वपा, राप्रपालगायतका दलले सदनमा विरोध गरिरहेका छन् । अब दलहरुले बुधबार महानगर प्रहरीबाट भएको बर्बर आक्रमणको छानबिन गर्न सरकारलाई दबाब दिनुपर्छ । अनि बर्बर आक्रमणका लागि आदेश दिनेमाथि मुद्दा चलाउनुपर्छ । यदि मुलुकका कानुनी राज्य छ भन्ने सन्देश दिने हो भने यो घटनामा संलग्नलाई केन्द्र सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ । नत्र मेयरले सिंहदरबारमा आगो लगाउने धम्की दिँदै जानेछन्, अदालतको आदेश मान्दिन भन्दै जानेछन् अनि यस्ता बर्बर आक्रमणको श्रृंखला चल्दै जानेछ ।
