काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
कोरियन भाषा परीक्षा (ईपिएस) फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारी दुई जना युवकको मृत्यु भएको थियो । प्रतिवेदन सार्वजनिक नगरिरएको भन्दै संसदमा विपक्षी दलहरुले निरन्तर विरोध गर्दै आएका छन् ।
त्यसैगरी बैठकले प्रहरीको गोली लागेर ज्यान गुमाएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २० पुसमा जयशंकरको मृत्यु भएको थियो ।