बीबीसी । रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको छ । उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिटक सर्कल जेल राखिएको थियो ।
रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए ।
उनलाई गत वर्ष मात्रै निकै कठोर जेलमध्येको आर्क्टिटक पेनल कोलोनीमा सारिएको थियो । रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइसकिएको बताएका छन् ।
जेल प्रशासनले उनी शुक्रवार हिँडेपछि बिरामी भएको जनाएको छ। उनको उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको छ । नभाल्नीका वकिलले रुसी सञ्चारमाध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन् ।
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए र जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो।
त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमा थिए । नभाल्नीले आफूमाथि स्नायु विष हमला भएको बारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो ।
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन्। हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट व्यक्ति भएको आरोप लगाउँदै आएका थिए । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।