ललिता निवास प्रकरणमा केही दोषीलाई बचाउन खोजेर मुद्धा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बचेः पूर्वसचिव त्रिताल

काठमाडौं । बालुवाटारस्थित तत्कालीन ललिता निवासको जग्गा छानबिन गर्न गठित समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रितालले राजनीतिक व्यक्तिलाई यस प्रकरणमा जोगाइएको बताएका छन् ।

विशेष अदालतको फैसलापछि सामाजिक संजालमार्फत त्रितालले अख्तियारले गहिरो अनुसन्धान गरेको तर केही दोषीहरुलाई बचाउन खोजेर मुद्धा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बच्न पुगेका बताएका हुन् ।

उनले भनेका छन्, ‘यो टिमका साथीहरुको अथक प्रयासले लगभग १४३ रोपनी जग्गा, जुन गलत तरिकाले व्यक्तिको नाममा गएको थियो, त्यो नेपाल सरकारको नाममा आउने भयो । हाम्रो प्रयास सफल मान्नु पर्छ कि हाम्रो प्रयास ललिता निवासको जग्गा मुआब्जा तिरेर अधिग्रहण गरिएको जग्गा हो भन्ने प्रमाणहरु जुटाउनु थियो । हामीले जुटायौं र प्रतिवेदन पेश गर्यौं । हामीले सो जग्गा सम्बन्धमा अनेकौं तहमा भ्रष्टाचारजन्य काम भएका छन्, कैंयौं चरणमा किर्ते र ठगी भएका छन्, त्यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआइबीले अनुसन्धान गर्नुपर्छ भनेर सिफारिस पनि गरेका थियौं । त्यो पनि पूरा भयो । सीआइबीको अनुसन्धानकोको परिणाम अदालतमा अझै विचाराधिन छ । अख्तियारले गहिरो अनुसन्धान गरेको तर केही दोषीहरुलाई बचाउन खोजेर मुद्धा दायर गर्दा राजनीतिक व्यक्तिहरु सजायबाट बच्न पुगेका छन् ।’

उनले केहीलाई जोगाइएपनि व्यक्तिको नाममा गएको जग्गा सरकारको नाममा आउने भएकोमा भने खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘ललिता निवास जग्गा हिनामिना भयो भनी लामो समयदेखि सम्बन्धित निकायमा उजुरी गरेर सक्रिय भूमिका खेल्ने अधिवक्ता युवराज कोइराला बधाइका मुख्य पात्र हुनुहुन्छ । त्यसैगरी, प्रेमकुमार राई (हाल प्रआ अदुअआ) त्यसबेला गृह सचिवको रुपमा नभएको भए हाम्रो समिति गठन हुने थिएन, हामीले दिएको प्रतिवेदन मन्त्रिपरिषदमा जाने थिएन र अनुसन्धानको लागि अख्तियार र सीआइबीमा पठाइने पनि थिएन । त्यसैले उहाँको भूमिका त्यति नै सशक्त र परिणाममुखी थियो । उहाँ बधाइको अर्को मुख्य पात्र हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *