बीबीसी । दक्षिण कोरियामा एक इसाई पादरीलाई उत्तर कोरियाबाट भागेर आएका नाबालिगहरूको यौनशोषण गरेको अभियोगमा जेल सजाय सुनाइएको छ । उत्तर कोरियाबाट सयौँ मानिसलाई भाग्न र दक्षिणतिर आउन सघाएको भनेर दक्षिण कोरियामा ती पादरीलाई नायक मान्दै आइएको थियो ।
एउटा अदालतले सउलस्थित आफ्नो आवासीय विद्यालयमा बसेका नाबालिगहरूको ति ६७ वर्षीय चुन कि–वनले यौनशोषण गरेको ठहर गरेको हो । उनले पाँच वर्ष कारागारमा बस्नुपर्ने छ । दशकौँसम्म उनलाई उद्धारक र संरक्षक मानिन्थ्यो।
उनले उत्तर कोरियाबाट भागेका मानिसहरूलाई सघाउन गरेको कामको मानिसहरूले प्रशंसा गर्दै आएका थिए । उनी गत सेप्टेम्बर महिनामा सउलमा पक्राउ परेका थिए । प्रहरीले उनले ६ जनाको यौनशोषण गरेको आरोप लगाएको थियो।
शोषणमा परेकाहरू उत्तर कोरियाबाट भागेर आएका नाबालिग भएको र उनीहरूलाई चुनले स्थापना गरेको मिशनको आवासगृहमा राखिएको प्रहरीले जनाएको थियो । चुनले आफूविरुद्ध लगाइएका अभियोगहरू अस्वीकार गरेका थिए । तर अदालतले पीडितहरूले पेस गरेको प्रमाण अकाट्य“ भएको भन्दै उनलाई दोषी ठहर गर्यो ।
न्यायाधीशले चुनले आफ्नो ‘वर्चस्व भएको’ स्थानमा ती अपराध गरेको ठहर गरे । नाबालिगसँग दुर्व्यवहार गरेको भन्ने ६ मध्ये पाँचवटा मुद्दामा उनी दोषी ठहर भए। शोषणमा परेका केही नाबालिग आफैँ भागेर आएका थिए भने केही चुनको मिशनको सहयोगमा सपरिवार उत्तर कोरियाबाट भागेका थिए ।
आफूले विगत २५ वर्षमा उत्तर कोरियाबाट .एकहजार जनाभन्दा बढी मानिसलाई भाग्न सघाएको दाबी चुनले गर्दै आएका छन् । उत्तर कोरियालीलाई भाग्न सघाएकाले प्योङ्याङले व्यक्तिगत रूपमा आफ्नो निन्दा गरेको पनि उनी बताउँछन् । सन् २००२ मा चीनमा सात महिनाका लागि जेल पर्दा उनीबारे निकै चर्चा भयो।