काठमाडौं । नेपालले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाव्बे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा आजबाट शुरु गर्दैछ । आज हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:१५ बजे शुरु हुनेछ ।
आज हुने पहिलो खेलमा नेपाल जित निकाल्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । यसअघि क्यानडाविरुद्ध भएको एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा क्लिन स्विप गरेको नेपाल आजपनि सोहि लय लाई निरन्तरता दिन चाहन्छ ।
लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टोली मध्ये अंक तालिकाको शीर्ष चारमा रहने टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नेछन् ।
दुई टोलीबीच भएको पछिल्लो ६ खेलमा नेपालले दुई खेल जित्दा नामिबियाले तीन खेल जितेको छ भने एक खेलमा नतिजा आएको थिएन । तर नेपालले घरेलु मैदानमा भएको दुवै खेलमा नामिबियालाई हराएको थियो ।