इरानको पाइपलाइनमा ग्यास आपूर्तिमा अवरोध

 

‘आतङ्कवाद र तोडफोड’ कार्यमा बुधबार बिहान इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनहरूमा दुई वटा विस्फोट भएको छ ।

आतङ्कवाद र तोडफोडको यो कार्य राति करिब एक बजे दुई स्थानमा गरिएको नेसनल इरानी ग्यास कम्पनीका प्रबन्धक सइद अघलीले जानकारी दिए । उनले तोडफोड गर्नेले दक्षिणपश्चिमी प्रान्त चाहरमहल र बख्तियारीको बोरुजेन सहर तथा फार्सको दक्षिणी प्रान्त सफसहरमा पाइपलाइनलाई निशाना बनाएको बताए । अघलीले विस्फोट र त्यसपछि लागेको आगोमा कोही हताहत नभएको जानकारी दिए ।

तोडफोडबाट कम्तीमा तीन प्रान्त उत्तरपूर्वमा उत्तरी खुरासान, पश्चिममा लोरेस्तान र उत्तरपश्चिममा जान्जनमा ग्यास आपूर्तिमा अवरोध भएको सरकारी मिडियाले बताएको छ । अघलीका अनुसार ग्यास कम्पनीले ग्यास लाइनहरूको व्यवस्था परिवर्तन गरेर ‘नेटवर्कको स्थिति स्थिर’ गरेको बताए ।

इरानले सामान्यतया विगतमा यस्तै प्रकारको तोडफोडका कार्यमा आफ्नो कट्टर दुश्मन इजराइलका एजेन्ट हरूलाई दोषी ठहर्याउँथ्यो । तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । दुवै देशका सरकार लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *