दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीको पिपरीमा स्कारपियो जिपको ठक्करबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जिप सडकबाट हुइँकिएर तल खेतमा पुगेको थियो ।
जिपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षीया राधा केसी बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको उक्त स्कारपियो जीपले सोही दिशातर्फ साईकलमा गईरहेका उनीहरुलाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो । केसीलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । घटनापछि जिप चालक फरार भएको उनको खोजी भइरहेको मल्लले बताए ।