विद्यार्थी ‘भड्काउने’ मुख्यमन्त्रीको मन्तव्य

काठमाडौं । गठबन्धनमा आएको फेरबदलका कारण कोशी प्रदेशसभा विघटनको संघारमा पुगेको थियो । त्यसमा पनि सत्ता गठबन्धनका दलहरुबीच मुख्यमन्त्रीको उम्मेदवारमा हानाथाप भइरहेको थियो । त्यतिनै बेला सत्ता गठबन्धनलाई फुटाउने दाउमा एमाले लागेको थियो । यही मौकामा कोशी प्रदेशमा शेखर कोइराला पक्षका नेता केदार कार्कीले उम्मेदवारी दिने निर्णय भयो । कार्कीलाई कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदले सघाउने भएका थिए । यही मौकामा एमालेले कार्कीलाई समर्थन गर्ने निर्णय गर्यो । त्यसपछि एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ गरी ४७ प्रदेश सांसदको सनाखत प्रदेश प्रमुखलाई बुझाइयो । त्यसपछि कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भए । ‘ब्लाइन्ड’ खेलेर जितेको दाबी गर्ने कार्कीलाई पछि प्रदेशसभाबाट विश्वासको मत लिने बेलामा सत्ता गठबन्धनले पनि मत दियो । मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं आएका कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा आशिर्वाद लिन पनि पुगेका थिए । तर मन्त्रिपरिषद विस्तार गर्ने क्रममा सत्ता गठबन्धनका नेतालाई पनि मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरीसकेको छ । मुख्यमन्त्री हुँदा उनले प्रदेशमा रोडमोडल बनेर काम गर्ने वाचा गरेका थिए । मुख्यमन्त्री भनेको प्रदेशको प्रधानमन्त्री नै हो । उसले हरेक काम गर्दा विशेष ख्याल गर्नुपर्छ । जसरी कार्की मुख्यमन्त्री बन्दा आशा लाग्दा देखिएका थिए, याहाँसम्म आइपुग्दा भने उनी तल झर्दै जान थालेका छन् । मुख्यमन्त्रीले विद्यालयका विद्यार्थीलाई प्रेरणा जगाउने पर्नेमा गलत सन्देश जाने मन्तव्य दिएर यतिबेला आलोचित बनेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री कार्कीले अन्यत्र असफल भएका व्यक्ति राजनीतिमा सफल हुने अभिव्यक्ति दिएका छन् ।

मुख्यमन्त्री कार्कीले फस्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको भन्दै विद्यार्थीलाई सुनाउँदै थिए । उनले विद्यार्थीमाझ भने, ‘फस्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न–पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो।’

उनले यस्तो बोलिरहँदा विद्यार्थीहरुले ताली बजाउनुका साथै हुटिङ गरिरहेका थिए । त्यसपछि झन् हौसिएका मुख्यमन्त्री कार्कीले चाणक्यको उदाहरण दिँदै भने, ‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो । इकोनोमिक्स टिचर हुनुहुन्छ भने कान खोलेर सुन्नुस् तपाईंले चाणक्यको अर्थशास्त्र नपढी अर्थशास्त्रमा डिग्री गर्न सक्नु हुन्न ।’

नेपालमा शिक्षा, बुद्धि, विवेक, अनुशासन, नैतिकताको अवमूल्यन यस्तै राजनीतिक नेताहरूका कारणले भएको हो । विद्यालयका साना विद्यार्थीका कलिला मस्तिष्कमा के भर्न खोजेको ? पढनु पर्दैन, मेहनत गर्नु पर्दैन, ठूला कुरा मात्र गर्नुस्, तेलाबेला गर, पढाई केही हैन, खरदार र राष्ट्रसेवक भनेका भुँडी मात्र भर्ने हुन्, देश चलाउनेलाई विज्ञताकोे काम छैन ? मुख्यमन्त्री नै सर्वग्य ! वाह !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *