एमाले अघिअघि, अरू पछिपछि !

काठमाडौं । संसदीय निर्वाचन सम्पन्न भएको केही महिनापछि नै राजनीतिक दलले आगामी ८४ को निर्वाचनलाई लक्षित गरी अभियान सुरु गरेका छन् । तर एउटा दलले सुरु गरेको अभियानलाई अरु दलले पनि नक्कल गरेर अभियान संचालन गर्ने होडबाजी चलेको छ । सुरुमा नेकपा एमालेले २ं०७९ फागुन ५ गतेदेखि दुई महिने ‘मिसन ग्रासरूट’ अभियान सुरु गरेको थियो । दुई महिने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तरक्रिया गर्ने र पार्टीभित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने अनि गर्न अभियान संचालन गरेको थियो । एमालेले हरेक जिल्ला र स्थानीय तहमा नेता खटाएर वडा वडामा कार्यक्रम गरेको थियो ।

त्यसपछि २०८० साउन २० देखि ३० गतेसम्म सत्तारुढ दल नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियान संचालन गर्यो । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको थियो । सात लाखसम्म सदस्यता थप्ने र संगठनलाई पूर्णता दिएर चलायमान बनाउनेलगायत उद्देश्य अभियानको थियो । अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल चलाएका थिए ।

कांग्रेसपछि नेकपा माओवादी केन्द्रले २०८० भदौ १६ गतेदेखि तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्यो । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु भएको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको थियो । विशेष अभियानका क्रममा पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने गरी प्रशिक्षित गरिने बताइएको थियो । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीले बताएको थियो । जसरी अभियान उद्घाटन भएको थियो, त्यसरी अभियान संचालन नभएको नेताहरुले नै बताएका थिए ।

त्यसपछि नेकपा एमालेले गत मंसीर १४ गते बैतडीको झुलाघाटबाट ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ संचालन गर्यो । त्यसक्रममा मध्यपहाडी लोकमार्गसँग जोडिएका २६ जिल्लाका ३० स्थानमा एमालेले ठूला जनसभा गरेको थियो । यस क्रममा सयभन्दा बढी कार्यक्रम गरिएका र ठाउँ ठाउँमा स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरिएको जनाइएको छ । यो संकल्प यात्रा १८ दिनपछि चिवाभञ्ज्याङ पुगेर समापन भएको थियो ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले गत असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्यो । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु भएको अभियान असोज २९ गते सुर्खेत पुगेर सभापन गरिएको थियो । अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिएको एकीकृत समाजवादीको दाबी छ ।

एमाले, कांग्रेस, माओवादीले अभियान संचालन गरेपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि के कम । उसले पनि पुस ९ गतेदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म पदयात्रा गर्यो । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले तीन दिने ‘रास्वपाको दबाब यात्रा’ अभियान संचालन गरेको हो । यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी भएका थिए । यो यात्रापछि अहिले रास्वपाले फेरि निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्राका लागि नेताहरुलाई खटाइसकेको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गरेको हो ।

अहिले फेरि कांग्रेस महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेका छन् । माघ १३ गते झापाको भद्रपुरस्थित मेची पुलबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुर पुगेर समापन हुनेछ । अभियान जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको थापाले बताएका छन् । महामन्त्री थापाले सुरु गरेको अभियानको निचोड के आउला त्यसका लागि भने केही दिन कुर्नैपर्छ ।

नेकपा एमाले चाहिँ मध्यपहाडी यात्राका क्रममा प्राप्त भएका जनताका माग र समस्याहरूबारे सरकारलाई ज्ञापनपत्र बुझाएको छ । १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन् । ती माग प्रधानमन्त्रीलाई बुझाउँदै एमालेले यी माग दराजमा थन्क्याएर नराख्न आग्रह गरेको छ ।
तर कांग्रेस, माओवादी र रास्वपाले चलाएको अभियानको निष्कर्ष बारे लिखित दस्तावेज बाहिर ल्याएका छैनन् । हरेक दलले चलाएका अभियानमा नेताहरु आफ्ना कार्यकर्तासँग मात्र नभई जनतासँग पनि ठोक्किएका छन् । उनीहरुले जनताको धारणा पनि बुझेका छन् । दलहरुले विभिन्न नाम दिइएका अभियानपछि राष्ट्रियसभाको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमा कतिपय ठाउँमा फ्लोरक्रस गरेर धोकाधडी भएका खबर बाहिर आएका छन् । अनि यी अभियानबाट जनतालाई महसुस हुने काम चाहिँ के भए त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *