काठमाडौं । गतवर्षको पुस १० गते प्रचण्डलार्ई प्रधानमन्त्री बनाउन नेतृत्व गर्दै नेकपा एमाले सरकारमा गएको थियो । प्रधानमन्त्री प्रचण्डसँग भएको सहमति कार्यान्वयन नभएपछि एमाले फागुन १५ गते सरकारबाट बाहिरियो । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । त्यसपछि निर्वाचन अघिकै गठबन्धन दल सरकारमा सहभागी भए । एमाले भने आगामी ८४ को निर्वाचनमा मध्यनजर गर्दै पार्टी सुदृढीकरण अभियानमा लाग्यो । उसले फागुन ५ गतेदेखि दुई महिने ‘मिसन ग्रासरूट’ अभियान संचालन गर्यो । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । अभियानअन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी संगठनबारे कार्यक्रम गरेका थिए ।
पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न अभियान चलाउनुपरेको एमालेले बताएको थियो । यसवर्ष एमालेले फेरि अर्को अभियान संचालन गर्यो । त्यो हो बैतडीको झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा । एमालेले १४ मंसिरमा दार्चुलाको झुलाघाटबाट उद्घाटन गरेर १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर यात्रा समापन गरेको थियो । यात्राका क्रममा एमालेले जनताका गुनासा र सुझावहरु लिएको थियो । यात्रा सम्पन्न भएपछि एमालेले पत्रकार सम्मेलन गरी संकल्प यात्रा सफल भएको निष्कर्ष सुनाएको थियो । यात्राबाट एमालेले मध्यपहाडी क्षेत्रका जनता वर्तमान व्यवस्थाकै पक्षमा रहेका, राजतन्त्रको पक्षमा नरहेको, पूर्वराजावादी, पश्चगामी र अतिवादीहरुले राजनीतिक दलहरुको लोकप्रियता खस्किरहेको चर्चा गरेपनि अभियानबाट त्यसलाई खण्डित गरेको, वर्तमान सरकार भ्रष्ट र दोहनकारी भएकाले जनतामा निराशा देखिएको निष्कर्ष निकालेको थियो । नेकपा एमालेको एउटै दृष्टि थियो आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने । उसले अब सत्तामा जान फोहोरी खेलमा नलाग्ने बताउँदै आएको थियो । तर एकाएक एमाले युटर्न भएको छ । बिहीबार पार्टी निकटको खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ कुर्न नसक्ने अवस्था आउने बताएका छन् । उनले देश बर्बाद भयो भने मिसन ८४ को चुनाव भनेर पर्खिएर नहुने र उस्तै परे गठबन्धन भत्काउने जिकिर गरेका छन् ।
यो बीचमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग एमालेले ६ सिट मागेको कुरा पनि आएको थियो । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध गरेपछि गठबन्धनसँग सहमति हुन सकेन । एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउने चेतावनी दिएका छन् । के त्यसो भए भित्रभित्रै कांग्रेस र एमालेबीच सहमति हुन लागेको हो त ? नत्र मिसन ८४ मा लागेको एमाले अहिले मिसन ८४ कुर्न नसक्ने भन्न थालेको हो त ? तर यसका कांग्रेसका एकजना नेता असहमत छन् । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा एमालेका कारण गठबन्धन नभत्किने बताउँछन् । उनी सत्ता गठबन्धन मजबुद भएकाले गठबन्धन नभत्किने बताउँछन् । राष्ट्रियसभा निर्वाचनलाई प्रभावित पार्नका लागि मात्र यस्तो अभिव्यक्ति आएको उनी बताउँछन् । उनी भन्छन्,‘गठबन्धन एमालेका कारण नभई गठबन्धन भित्रका दलका बीचमा समस्या भयो भने आफैं भत्किन्छ, बाहिरबाट भत्काउने सम्भावना छैन।’
