बङ्गलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्राउ गरेको छ ।
शुक्रबार राति ढाकाको मध्य भागमा रहेको ‘इन्टरसिटी बेनापोल एक्सप्रेस’ रेलमा भएको आगलागीमा सयौँको सङ्ख्यामा यात्रुलाई जलिरहेको गाडीबाट बाहिर निकाल्न हम्मेहम्मे परेको थियो ।
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’ मा सम्लग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले भने,’नाबीले ‘बीएनपीको हिंसात्मक आन्दोलन’मा आर्थिक सहयोग गर्नुभएको थियो ।’
बीएनपी र अन्य दर्जनौं विपक्षी दलले आइतबारको मतदान बहिष्कार गरिरहेका छन्, जसलाई उनीहरूले लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनाको शासनलाई कुण्ठित गर्न योजना गरिएको ‘ढोङ’ भएको बताएका छन् ।
पार्टीले आगलागीको जिम्मेवारी लिएको भन्ने आरोपको खण्डन गर्दै घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।
पार्टीका प्रवक्ता एकेएम वाहिदुज्जमानले भने, ‘बीएनपीको अहिंसात्मक आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले सरकारी पदाधिकारीहरूले गरेको यो पूर्वनियोजित विध्वंसात्मक कार्य हो ।’
ढाका अस्पतालका वरिष्ठ अधिकारी सामन्तलाल सेनका अनुसार आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले रेलमा भएको आगलागीलाई ‘मानवताविरुद्धको अक्षम्य अपराध’ भनेका छन् ।
“यो त्रासदीको समय लोकतान्त्रिक प्रक्रियाको उत्कृष्ट उत्सव निर्वाचन र सुरक्षामा बाधा पुर्याउने पूर्ण मनसाय देखाउँछ,” उनले भने ।
प्रमुख विपक्षी दलसहितका प्रभावशाली केही दलहरूले भाग नलिएको आइतबारको मतदानमा ७६ वर्षीया वर्तमान् प्रधानमन्त्री हसिना लगातार पाँचौं कार्यकालका लागि निर्वाचित हुने निश्चित भएको पर्यवेक्षकहरूले बताएका छन् ।
विपक्षी दलहरूले गत वर्ष निर्वाचनको पर्यवेक्षण गर्न र देशको अखण्डता सुनिश्चित गर्न तटस्थ कामचलाउ सरकारको पक्षमा हसिनाको राजीनामाको माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।
आइतबार हुने मतदानका लागि भएको निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी शनिबार अपरान्ह्सम्म कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ ।