पोखरालाई हराउँदै धनगढी एनएसएलको फाइनलमा

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग(एनएसएल) को फाइनलमा पुगेको छ । सोमबार बेलुकी भएको पहिलो क्वालिफायर्समा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै धनगढी लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । तर अतिरिक्त समयपनि २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको हो ।

खेलअवधि भर शानदार प्रदर्शन गरेका धनगढीका गोलकिपर टाहाले पोखराका मोसेस ग्याबा र आयुष घलानको पेनाल्टी बचाउँदै टोलीलाई जित दिलाएका हुन् । पोखराका गोलरक्षक प्रिसोले पनि अहमद हिजाजीको प्रहार बचाएका थिए ।

यसअघि खेलको पाँचौ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा थप गोल हुन नसक्दा अतिरिक्त समयमा धकेलिएको खेलको १ सय ३ औं मिनेटमा स्टेफेन कोहो पापा अनोरले गोल गर्दै पोखरालाई फेरी २-१ गोलको अग्रता दिलाएका थिए ।

यस्तै अतिरिक्त समयको इन्जुरी मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीको हार टारेका थिए । जितसँगै धनगढी सिधैं फाइनलमा पुग्दा पोखराले फाइनल पुग्ने अझै एक मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशको लागि मंगलबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच हुने इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *