काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयर बजार नेप्से बिहीबार भने दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।
व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ । बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ ।
बुधबार सात अर्ब रुपैयाँको कारोबार भएकोमा आज एक करोड ७१ लाख कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।