मनहरी । हेटौंडाका एक जना समाजसेवीले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन् । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन् ।
सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी वाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन् । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले बताए ।
व्यवसाय गरेर प्रशस्त आम्दानी गरेका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन् । सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा एक करोड ५० लाख खर्च भएको बताए । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।