प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि….

बीबीसी । दक्षिण कोरियामा विश्वविद्यालयमा भर्नाका लागि लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन् । मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन (१५,४०० अमेरिकी डलरजति) क्षतिपूर्ति मागेका छन्। त्यो रकम फेरि परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो ।

उनीहरूका वकिलका अनुसार एउटा विषयको परीक्षा निर्धारित समयावधिअघि नै सकिएकाले विद्यार्थीहरूको बाँकी विषयको परीक्षा पनि प्रभावित भएको थियो ।

दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा ‘सन्यङ’ भनिन्छ। यसमा विद्यार्थीहरूले विभिन्न विषयमा एकपछि अर्को गर्दै निरन्तर आठ घण्टा लामो जाँच दिनुपर्छ । गत नोभेम्बरमा सम्पन्न परीक्षामा ५० लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । विश्वभरि लिइने सबै परीक्षामध्ये सन्यङलाई कठिन मानिन्छ।

कोरियाली समाजमा यो परीक्षाको ठूलो महत्त्व छ । यो परीक्षाबाट विश्वविद्यालयमा पढ्न र पछि जागिर खान पाउने बाटो खुल्छ। यो परीक्षा भविष्यमा हुने सम्बन्धको आधार पनि बन्छ ।

प्रत्येक वर्ष एक पटक लिइने यो परीक्षामा विद्यार्थीको ध्यान अन्त नमोडियोस् भनेर विभिन्न उपाय गरिन्छ। परीक्षाको दिन देशको आकाशमा विमान उड्दैनन् र शेयर बजार पनि ढिलो गरी खुल्छ यो वर्षको प्रवेशपरीक्षाको नतिजा गत डिसेम्बर ८ मा प्रकाशित भइसकेको छ ।

सरकारविरुद्ध कम्तीमा ३९ विद्यार्थीले मङ्गलबार मुद्दा हालेका हुन्। देशको राजधानी सोलस्थित एउटा केन्द्रमा कोरियाली भाषाको परीक्षा सकिएको जनाउ दिने घण्टी समय नभई बजेको उनीहरूको दाबी छ । केही विद्यार्थीले तत्काल आपत्ति व्यक्त गरेका थिए। तैपनि निरीक्षकहरूले आफ्नो कापी खोसेको उनीहरू बताउँछन् ।

अर्को विषयको परीक्षा सुरु हुनुअघि शिक्षकहरूले पहिला गल्ती भएको महसुस गरे र खाजा खाने समयमा डेढ मिनेट समय थपिदिए । त्यो समयमा परीक्षार्थीहरूलाई आफ्नो कापीमा देब्रेपट्टि खाली लाइन तान्न मात्र दिइएको थियो तर लेखिसकेको उत्तरमा थपघट गर्न दिइएको थिएन ।

विद्यार्थीहरूले त्यसपछि आफूहरू दुःखी भएको र बाँकी परीक्षामा ध्यान दिन नसकेको योन्हाप समाचारसंस्थालाई बताएका छन्। केही विद्यार्थी त परीक्षा नै छोडेर घर फर्किएको विवरण पनि प्रकाशित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *