बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले सूर्यबाट निस्किएको एउटा ज्वालाको भिडियो सार्वजनिक गरेको छ । नासाका अनुसार उक्त सौर्य ज्वाला केही वर्षयता उत्पन्न ऊर्जाको सबैभन्दा शक्तिशाली लप्का थियो । गत बिहीबार नासाको सोलर डाइन्यामिक्स अब्जर्भेटरीको क्यामराले एक्स२.८ नाम दिइएको उक्त ज्वाला निस्किएको दृश्य खिच्यो ।
क्यामराले निरन्तर सूर्य र सौर्य घटनाको अनुगमन गर्छ। सन् २०१७ को सेप्टेम्बरमा एक्स८.२ नाम दिइएको ज्वालापछि अहिले निस्किएको ज्वाला सबैभन्दा ठूलो हो । नासाले निकै सघन सौर्य ज्वालालाई एक्स वर्गमा राख्छ। एक्ससँग लेखिने अङ्कले सौर्य ज्वाला कति शक्तिशाली छ त्यो सङ्केत गर्छ । गत बिहीबार उत्पन्न सौर्य ज्वालाले पृथ्वीमा रेडियो सञ्चारलाई दुई घण्टाजति अवरुद्ध गरिदिएको थियो ।
केही विमानचालकहरूले सञ्चारसम्पर्क प्रणालीमा समस्या उत्पन्न भएको बताएका छन् । त्यस्तो ज्वालाले विद्युत् प्रसारणका ग्रिड, हवाईजहाज र पानीजहाजमा जडित दिशा पहिल्याउन सघाउने संयन्त्रबाट उत्पन्न हुने सङ्केत र रेडियो सञ्चारमा प्रभाव पार्न सक्छ । सौर्य ज्वालाका कारण अन्तरिक्षयान र अन्तरिक्षयात्रीहरूलाई पनि खतरा हुन सक्ने नासाले जनाएको छ ।
सूर्यबाट शक्तिशाली विस्फोटनसहित विकिरण निस्किँदा ज्वाला देखिन्छ। सूर्यमा हुने केही क्षेत्रसँग सम्बन्ध भएको चुम्बकीय ऊर्जा उत्सर्जन हुँदा त्यस्तो ज्वाला निस्किन्छ । नासाका अनुसार सौर्य ज्वालाको उत्पत्ति हाम्रो सौर्यमण्डलमा हुने सबैभन्दा विस्फोटक घटना हो। सौर्य ज्वाला केही घण्टादेखि केही दिनसम्म रहन सक्छ र त्यसलाई सूर्यमा उज्यालो क्षेत्रका रूपमा देखिन्छ ।
यूएस नेशनल ओशनिक एन्ड एट्मस्फेरिक एन्ड एड्मिनिस्ट्रेशन वेदर सेन्टरले यसपालिको सौर्य ज्वालालाई ‘अहिलेसम्म पत्ता लागेको सम्भवतः एउटा सर्वाधिक ठूलो सौर्य रेडियो घटना’ भनेको छ । उक्त निकायले ‘भूचुम्बकीय आँधी’ आउन सक्ने जनाएको छ। अर्थात् केही दिनपछि पृथ्वीमा ’नोर्दर्न लाइट्स’ देखिन सक्छ । युरोपेली अन्तरिक्ष निकाय ईएसएका अनुसार सन् २००३ मा सर्वाधिक शक्तिशाली सौर्य ज्वाला उत्पन्न भएको थियो। त्यसको शक्ति एक्स२८ मापन गरिएको थियो।