पोखरा । स्पेनिस क्लब रियल म्याड्रिडको आधिकारिक फेन क्लब रियल म्याड्रिड फेन क्लब नेपाल-पोखराको आयोजनमा पाचौं इन्ट्रा म्याड्रिस्टा फूटसल प्रतियोगिता हुने भएको छ । क्लबको पोखरा विङ्सको आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीब्र गतिमा अगाडि बढेको आयोजकले जनाएको हो ।
यहि पुस २१ गते पोखराको बी-फिट स्पोर्ट्समा हुने प्रतियोगितामा कुल ८ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा आयोजक पोखराको दुई टोलीसँगै क्लबको अन्य विङ्स प्रदेश १, काठमाडौं, चितवन, बुटवल, हेटौंडा र नुवाकोट रहेको आयोजकले जनाएको छ । यस्तै सोहि दिन काठमाडौं र पोखरा विङ्सको गल्स टोलीबीचपनि खेल हुनेछ । यसअघि पोखराले तेस्रो संस्करण आयोजना गरेको थियो भने गत संस्करण काठमाडौंमा भएको थियो ।
प्रतियोगिता आयोजनाको लागि आतुर रहेको जनाउँदै तयारी तीब्र गतिमा अगाडि बढिरहेको आयोजक पोखरा विङ्सका प्रमुख बसन्त गौतमले नेपाल समाजलाई बताए । गौतमले भने, “हामीले पछिल्लोपटक पनि प्रतियोगिता सफलताका साथ आयोजना गरेका थियौ । यसपटक गत संस्करणको भन्दा अझ भव्य तरिकाले प्रतियोगिता आयोजना गर्ने लक्ष्यसहित तयारीमा छौ । प्रतियोगितालाई भव्य र सव्य रुपमा सञ्चालन गर्ने हाम्रो एकमात्र लक्ष्य रहेको छ ।”
प्रतियोगिता आयोजनाको लागि समर्थकले गरेको सहयोगबाट क्लब खुशी रहेको फेन क्लबका सचिव मदन लम्सालले बताए । उनले भने,”हाम्रो साथीभाईबाट आर्थिकसँगै विभिन्न रुपले सहयोग पाउँदा क्लब धन्य रहेको छ ।” यस्तै प्रतियोगिता कुनै नाफा कमाउने उदेश्यको लागि नभई खेलको माध्यमबाट क्लबका समर्थकबीच आफसी भाइचारा बढाउनको लागि आयोजना गरिएको सचिव लम्सालले बताए । “प्रतियोगिता आयोजना गर्नुको मुख्य लक्ष्य भनेकै देशविदेशमा रहेका समर्थकलाई एक बनाउने हो । देशको विभिन्न ठाउँमा रहेका क्लबका समर्थकलाई खेलको माध्यमबाट मनोरञ्जनसँगै आपसी आत्मियता बढाउने लक्ष्यसहित हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेका हौँ ।”, लम्सालले जोडे ।
प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।