काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक र तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।
नेता जीवनराम श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको हो ।
मंगलबार दोस्रो दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भएको उनले बताए । सचिवालय बैठक शनिबार बस्नेगरी स्थगित भएको छ ।
उनले भने,‘ माघको १४ र १५ गतेलाई राखिएको केन्द्रीय परिषद् बैठक १५ गतेपछि मात्र तिथि तोक्ने गरी हाललाई स्थगित गर्ने निर्णय भएको छ ।’
आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहेको उनले जानकारी दिए । बैठकमा केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने, निर्वाचनको विधि कस्तो गर्ने भन्ने विकल्पमा छलफल भएको उनले बताए ।