यो पनि जनवादी विवाह नै हो कामरेड !

मोहन लामा रुम्बा ।
अहिले सामाजिक संजालमा प्रचण्ड परिवारले गरेको विवाह चर्चामा छाइरहेको छ। धेरैले भन्ने गरेको पाइयो – “हिजो थोरै पैसामा कमरेडहरुले जनवादी विवाह गर्थे, अहिले पनि यस्तो पाँच तारे होटलमा तडकभडक नगरीकन सर्वहाराको नेताले थोरै खर्चमा विवाह सम्पन्न गर्नुपर्ने थियो। यो कम्युनिस्ट सिद्धान्त विपरीत भयो भन्दै धेरैले रोइलो गरेको पाइयो । तर धेरैलाई थाहा नभएर हो की नबुझेर होला ? अहिले सबैले किन विवाहको कुरालाई लिएर हाम्रो कमरेड प्रचण्डको आलोचना गरेको होला ? उहाँले अहिले पनि साधारण सामान्य खर्चमा नै त जनवादी विवाह गराएको छ त ? तपाईं एउटा होटलमा २० रुपैयाँँको चिया पिउनु हुन्छ तर अर्बपति विनोद चौधरीले त्यस्तै चिया पिउन फाइभ स्टार होटलमा गएर ५०० रुपैयाँ तिरेर पिउँछन् ।

त्यो चिया तपाईंको लागि यसो हेर्दा महंगो भयो होला तर चिया पिउने विनोद चौधरीको लागि हुँदैन किनभने उनले आफ्नो आम्दानी अनुसारको ५०० तिर्नु र तपाईंको आम्दानी अनुसारको २० रुपैयाँँ तिर्नु बरु तपाईंले पिएको २० रुपैयाँको चिया तपाईंको लागि आम्दानीको अनुपातमा तपाईंको लागि महंगो पर्नसक्छ तर ५०० रुपैयाँँको चिया पिउने विनोद चौधरीको लागि महंगो हुँदैन।

ठिक त्यस्तै हिजो हाम्रो कमरेडहरु गरीब थिए आर्थिक अवस्था कमजोर थियो खल्तीमा ५०० को नोट देख्न गाह्रो हुन्थ्यो त्यतिबेला दुई तीन सय खर्च गरेर विवाह गर्थे । अब अहिले अर्बौं अर्ब कमाई रहेकोे बेला जाबो फाइभ स्टार होटलमा दस बीस करोडको खर्च गरेर विवाह गरेको छ, त्यति रकम भनेको त उस्तै परे एक दिनको कमाई हुन्छ।

हिजोको दिनमा हजार पाँच सय महिनामा कमाएको बेला दुई पाँच सय खर्च गरेर जनवादी विवाह गर्नु र अहिले अर्बौं कमाएको बेला गोडा दस बीस करोड खर्च गरेर विवाह गर्नु अनुपातमा हिसाबकिताब गरेर हेर्दा बरु अहिले यो विवाह गरेको भन्दा हिजो दुई चार सय खर्च गरेर गरेको विवाह झन् महंगो देखिन्छ ।

त्यसैले अहिले पनि प्रचण्डले धेरै मितव्ययिता अपनाएर गरेको जनवादी विवाह नै हो। प्रचण्डको आजको आम्दानीसँग तुलना गरेर हेरौं जाबो दस बीस करोड खर्च गरेको छ, त्यो त तपाईं र मेरो लागि पो महंगो भयो त प्रचण्डको लागि महंगो हुन्छ र ? उनको लागि त त्यही हिजोको दिनको दुई चार सय जस्तै होइन र ? अनि कसरी महंगो भयो त ? त्यसैले यो पनि जनवादी विवाह नै हो साथीहरू ! फरक भनेको हिजो र आजमा कमरेडहरुको आम्दानीको मात्रै हो क्या !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *