युरोपेली संसदका सदस्यहरूले सोमबार इरानलाई महसा अमिनीको परिवारलाई युरोपेली युनियन (इयु) को शीर्ष अधिकार पुरस्कार लिन फ्रान्स जान अनुमति दिन आग्रह गरेका छन् । अमिनीको हिरासतमा मृत्यु भएपछि विश्वव्यापी प्रदर्शन भएको थियो ।
सांसदहरूका अनुसार तेहरानमा अधिकारीहरूले अमिनीकी आमा, बुबा र भाइको राहदानी जफत गर्दै उनीहरूलाई पेरिस उडानमा चढ्न रोकेका छन् ।
“यो प्रतिबन्धको उद्देश्य जिना महसा अमिनीको परिवारलाई मौन बनाउनु हो, उनीहरूलाई इरानमा महिलाहरूको अधिकार, मानवअधिकार र मौलिक स्वतन्त्रताका बारेमा इस्लामिक गणतन्त्र इरानको अपमानजनक दमनका बारेमा बोल्नबाट रोक्नु हो”, एक सय १६ सांसदहरूले एक पत्रमा लेखेका छन्, “हामी यसलाई सहन सक्तैनौँ, सत्यलाई मौन गराउनु हुँदैन र यो अविश्वसनीय मुक्ति आन्दोलनको अनुहार युरोप र विश्वलाई देखाउनुपर्छ ।”
सांसदहरूले इरानलाई उक्त निर्णय फिर्ता लिन र जिना महसा अमिनीकी आमा, बुबा र भाइलाई सन् २०२३ को सखारोभ पुरस्कार प्राप्त गर्नका लागि मङ्गलबार स्ट्रासबर्गमा युरोपेली संसद्को भ्रमण गर्न अनुमति दिन आह्वान गरे ।
बाइस वर्षीया इरानी कुर्द महिला अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा इरानको धार्मिक प्रहरीले महिलाहरूका लागि मुलुकको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा हिरासतमा लिएपछि मृत्यु भएको थियो ।
उनको मृत्युले इरानमा व्यापक विरोध प्रदर्शन सुरु भयो र ‘महिला, जीवन, स्वतन्त्रता’ नामक विश्वव्यापी आन्दोलन सुरु भयो । आन्दोलनमा तेहरानमा मुस्लिम धर्मगुरुको नेतृत्वमा रहेको सरकार र महिलामाथि हिजाब लगाउनुपर्ने अनिवार्यताको अन्त्यको माग गरिएको छ ।
अक्टोबरमा युरोपेली युनियनले अमिनीलाई उसको सर्वोच्च अधिकार सम्मान सखारोभ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
इरानी सुरक्षा बलले घरेलुस्तरमा भएको विरोध प्रदर्शनहरूमा कारबाही गर्दा सयाँै मानिस मारिएका छन् । इरानी अधिकारीहरूले ‘दङ्गा’ भनेर सम्बोधन गरेको आरोपमा दर्जनौँलाई मृत्युदण्ड दिएका छन् ।