यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एसीसी यु-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दिउँसो भएको खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको हो ।

जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १ सय ८८ रनमा समेटिएको हो । नेपालको लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अर्जुनले १ सय ८ बल खेल्दै १३ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले २४, गुलसन झाले १७, दिपक बोहोराले १५ र दिपेश कडेलले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

अफगानिस्तानको लागि फरिदोन डावोड्जी र नासिर खानले समान तीन-तीन विकेट लिँदा मोहम्मद योउनुसले दुई तथा वाहिदुल्लाह जद्रन र खलिल अहमदले एक-एक विकेट लिए ।

यसअघि दुबईको आइसीसी ऐकेडेमीको दोस्रो मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९.३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनाएको थियो ।

जमसिद जर्दानको उत्कृष्ट शतकीय पारीमा नेपाललाई अफगानिस्तानले उक्त लक्ष्य दिएको हो । उनले १५२ बलमा ८ चौकाको मद्दतले १०६ रन बनाउँदा घाइते भएर मैदान छाडे ।

६.३ ओभरमा ३३ रन बनाउँदा पहिलो तीन विकेट गुमाएको अफगानिस्तानले त्यसपछि सम्हालिएर ब्याटिङ गरेको थियो । अफगानिस्तानले आफ्ना दुई ओपनर वाफिउल्लाह तारखिलले १५ तथा खालिद तानिवालले १० रन जोडेका थिए । त्यसपछि अक्ररम मोहम्मदाजीले खाता नै खोल्न सकेनन् ।

त्यसपछि अफगानिस्तानले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेको हो । रहिमुल्लाह जुरमति र जमसिद जर्दानले १२९ बलमा ८१ रनको साझेदारी गरे ।

रहिमउल्लाह ब्यक्तिगत ३५ रनमा आउट भए । पाँचौं विकेटका लागि जमसिद जदार्न र नुमान शाह अग्गाले ८२ बलमा ९७ रनको साझेदारी गरे । नुमान ४१ बलमा ६० रन बनाउँदै आउट भए ।

अफगानिस्तानले छैटौं विकेटका रुपमा ब्यक्तिगत दुई रनमा मोहम्मद युनुस जर्दानलाई गुमायो । अफगानिस्तानले सातौं विकेटका रुपमा खालिल अहम्मदले व्यक्तिगत १३ रनमा गुमाएको थियो ।

आठौं विकेटका रुपमा कप्तान नासिर खान मारोफि ४ रनमा रनआउट भए । अन्तिम विकेटका रुपमा आउट भएका भरिदुन दावादजाईले खाता नै खोल्न सकेनन् । नेपालका लागि हेमन्त धामी, सुवास भण्डारी र गुल्शन झाले दुई दुई तथा आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।

जितसँगै अफगानिस्तानले दुई खेलबाट २ अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल पुछारमा छ । अब नेपालले मंगलबार हुने अन्तिम खेलमा भारतको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *