एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गर्दा साउदी प्रो लिगमा अल नासरले जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले अल रियादलाई ४-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा अल नासरलाई जित दिलाउन एन्डर्सन टालिस्काले दुई गोल गर्दा क्रिस्टियानो रोनाल्डो र ओटाभियोले समान एक-एक गोल गरे । अल रियादको लागि एन्द्रे ग्रेले एक गोल गरे । ३३ औं मिनेटमा मानेको पासमा रोनाल्डोले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले व्यक्तिगत १२ सय खेलमा गोल गर्न सफल भएका हुन् । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोको पासमा ओटाभियोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए ।
६७ औं मिनेटमा मानेको पासमा टालिस्काले गोल गर्दै अल नासरलाई ३-० गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा जुअंमीको पासमा ग्रेले गोल गर्दै अल रियादलाई खेलमा फर्काउने प्रयास गरेका थिए । यस्तै इन्जुरी समयको चौथो मिनेटमा अल घानमको पासमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ४-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै १६ खेलबाट ३७ अंक जोडेको अल नासर दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको अल रियाद १४ औं स्थानमा रहेको छ ।