गर्भवती र नवजात शिशुको स्वास्थ्य जोखिममा: बाटैमा जन्मिन्छन् दुर्गमका बच्चा

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाकी एक महिलाले मंगलबार सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बाटोमै बच्चा जन्माइन्। बुढीनन्दा–४, कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जानेक्रममा बाटोमै छोरी जन्माएकी हुन् ।

सुत्केरी व्यथा लागेपछि रोकाया एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमै छोरी जन्मिएको स्वास्थ्य केन्द्र प्रमुख धर्मा चदाराले बताइन्। उनले भनिन्, ‘म स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा पानसरा रोकायालाई देखेपछि सहयोग गरें।’

बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले उनलाई बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताइन्। अहिले जन्मिएकी छोरी तेस्रो सन्तान भएको रोकायाले जानकारी दिइन्। उनले तीनवटै सन्तान बाटोमै जन्माएको बताइन्।

रोकाया मात्र नभई बाजुराका धेरै महिला बाटोमै बच्चा जन्माउन बाध्य छन्। केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन्। ‘जिल्लाको गौमूल गाउँपालिका–३, माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१, बामुकी नानी रोकाया, हिमाली–२, नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटकी ३५ वर्षीया कात्र्तिका विकले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदैगर्दा बाटोमै शिशु जन्माएका हुन्,’ रुगिन स्वास्थ्य चौकीमा कार्यरत विमला पाण्डेले भनिन्। उनका अनुसार यी केही उदाहरण मात्र हुन्। यसरी स्वास्थ्य संस्थामा जानेक्रममा बाटोमै सुत्केरी हुनेको संख्या धेरै छ। अझै घरमा असुरक्षित सुत्केरी हुनेको संख्या धेरै छ।

कालीकोटको तिलागुफा–७, माथिबाडाकी २३ वर्षीया जनपुरा शाहीलाई केही समयअघि सुत्केरी बेथाले च्याप्यो। स्वास्थ्यचौकी पुग्न आधा दिन हिँड्नुपर्ने भएपछि उनलाई घरमै सुत्केरी गराउने तयारी भयो। करिब १३ घण्टा बेथाले च्यापेपछि पनि बच्चा जन्मिएन। त्यसपछि उनलाई स्वास्थ्यचौकी लैजाने जोहो गरियो। तर स्वास्थ्यचौकी पुग्न नपाउँदै बाटोमै उनले छोरा जन्माइन्।

बाटोमै जन्माएको शिशु काखमा राखेर उनी स्वास्थ्यचौकी पुगिन्। उनले भनिन्, ‘सुरुमा त घरमै सुत्केरी भइहालिन्छ भनेर सोचें। धेरै अप्ठेरो भएपछि स्वास्थ्यचौकी जाने तयारी भयो। टाढाको बाटो। स्वास्थ्यचौकी नपुग्दै बाटोमै बच्चा जन्मियो। धन्न भगवान्ले हामीलाई बचाए।’

केही समयअघि मुगुको खत्याड–३, रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया पत्नी जौकलालाई सुत्केरी व्यथा लाग्यो। गमगढी बस्दै आएका कल्सेले पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल लैजाने निधो गरे। अस्पताल पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन्। जौकलाको पहिलो गर्भ बिग्रिएको थियो। उनको दोस्रो गर्भबाट जन्मिएका छोराको महिना दिन नपुग्दै मृत्यु भयो।

गत साता बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, जारिमतोलाकी ३२ वर्षीया एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि उनी अछामको बयालपाटा अस्पताल गइन्।

अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेकाले शल्यक्रिया गरेर जन्माउनुपर्ने बताए।

त्यस्तै दैलेखको आठबीस नगरपालिकास्थित राकम कर्णाली आधारभूत अस्पतालमा जाँदै गरेकी सूर्जा विक पनि बाटामै सुत्केरी भइन्। गत असार २७ गते राति २ बजे हिँडाएर अस्पताल लैजाने क्रममा व्यथाले च्यापेर उनी बाटोमै ढलेकी थिइन्।

उनका आफन्तले राति नै अस्पतालबाट अनमी रानीदेवी बोहरालाई घटनास्थलमा लिएर गए। तर बच्चा पेटमै मरिसकेको रहेछ। अनमी बोहराले भनिन्, ‘समय ढिलो भएकाले बच्चा मरिसकेको रहेछ। आमाको स्वास्थ्य भने सामान्य बनाइयो। उनका आफन्त बिहानको ४ बजेतिर मलाई बोलाउन आएका थिएँ। म हतारहतार गरेर गएँ तर बच्चालाई बचाउन सकिएन।’

दुर्गममा स्वास्थ्य संस्थामा सबैको सहज पहुँच नहुँदा बाटो र घरमै असुरक्षित सुत्केरी हुनुपर्ने बाध्यता छ। माथि उल्लेख गरिएका घटना प्रतिनिधिमूलक हुन्। कर्णालीका दुर्गम गाउँमा यसरी सुत्केरी हुनेको संख्या धेरै छ। असुरक्षित रूपमा सुत्केरी हुँदा र गराउँदा कतिपयको ज्यानै जोखिममा परेका घटना पनि धेरै छन्।

कर्णाली प्रदेशमा हरेक महिनाजसो यस्ता घटना बाहिर आउँछन्। जसले समग्र प्रदेशको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छ। भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरपरिवारको लापरबाही, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्थ्यचौकी सम्झिन्छन्। जब व्यथाले च्याप्छ, जटिल अवस्था आउँछ तब मात्र उनीहरू स्वास्थ्यचौकी र अस्पताल सम्झिन्छन्।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले यातायात खर्च दिन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या वृद्धि भएको बताए। उनले भने, ‘पहिला महिला घरमै बच्चा जन्माउन चाहन्थे। स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई पैसा दिन थालेपछि स्वास्थ्य संस्थामा आउन थालेका छन्। तर भौगोलिक विकटता र यातायात असुविधाका कारण बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता टरेको छैन। यसको अभिलेख भने छैन।’

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा २३ दशमलव ६ प्रतिशत परिवार मात्र आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था छ। बाँकी घण्टौं लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ।

कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। कर्णाली प्रदेशभरि ३ सय ५९ वटा बर्थिङ सेन्टर छन्। यहाँको भौगोलिक विकटताअनुसार यो संख्या पर्याप्त होइन्। सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन्। सबैभन्दा कम बर्थिङ सेन्टर डोल्पामा १४ वटा छन्।

निर्देशनालयका अनुसार पछिल्लो समय कर्णालीका महिलामा स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने सोचको विकास भइरहेको छ। कर्णाली प्रदेशका १० वटै जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ३३ हजार १ सय ६०, आव २०७८/७९ मा ३० हजार ७ र आव २०७९/८० मा २९ हजार ५ सय ८७ गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको निर्देशनालयको तथ्यांक छ।

यस्तै कर्णालीमा आर्थिक वर्ष २०७७/७८ मा २०, आव २०७८/७९ मा १७ जना र आव २०७९/८० मा १६ जनाको सुत्केरी हुन नसकेर र सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको सरकारी तथ्यांक छ।

बाटोमै जान्छ सुत्केरीको ज्यान

२०७८ साल असार ३० गते कालिकोट तिलागुफा नगरपालिका–११ की हरिशोभा विकलाई सुत्केरी व्यथाले च्याप्यो। सुत्केरी व्यथाले च्यापेकी उनको अस्पतालमा लैजानेक्रममा मृत्यु भयो। त्यसको केहीअघि रास्कोट नगरपालिका–७ की २० वर्षीया बिन्दा लुवार घरमै सुत्केरी भइन्। अत्यधिक रक्तश्राव भएपछि अस्पतालमा लैजानेक्रममा उनको पनि मृत्यु भयो।

कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, डोल्पालगायत हिमाली जिल्लामा भौगोलिक विकटता र ग्रामीण स्तरसम्म स्वास्थ्य सेवाको पहुँच नहुँदा सुत्केरी व्यथाले च्यापेका महिलाको स्वास्थ्य संस्थामा पुग्न नसकेर बाटो/घरमा ज्यान जाने गरेको छ।

प्रायः व्यथा लाग्नेबित्तिकै अस्पताल नल्याने र अप्ठेरो अवस्थामा पुगेपछि अस्पतालतर्फ हिँडाउँदा पनि कतिपयले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था छ।

कर्णालीका ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी भए पनि दक्ष चिकित्सक, उपकरण र औषधि अभाव छ। सडक सञ्जालमा नजोडिएका स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मीको अभाव, कठिन भूगोल, रुढीग्रस्त समाज जस्ता कारणले पनि गर्भवती र सुत्केरीले निकै सास्ती भोग्दै आएको महिला अधिकारकर्मी दीपा बोहरा बताउँछिन्। उनले भनिन्, ‘म स्वास्थ्यकर्मी पनि हुँ। सुत्केरी व्यथा लागेपछि अस्पताल जानुपर्छ भन्ने सोचको विकास सबैमा हुन सकेको छैन।’

कालीकोटको पलाँता गाउँपालिकास्थित स्वास्थ्य चौकी धौलागोहमा कार्यरत सिनियर अहेब जन्मऋषि न्यौपानेले भने, ‘गाउँबाट बिरामीलाई तत्काल सुविधासम्पन्न ठाँउमा पठाउन यातायात सुविधा छैन। हवाई सेवा पनि समय हेर्नुपर्छ। जसका कारण कतिपय अवस्थामा गर्भवती र सुत्केरीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आएको छ। घरमै सुत्केरी गराउने सोचका कारण पनि यस्तो हुन्छ।

सरकारले हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरेर त्यो घोषणामै सीमित छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७९ पालिकामध्ये ५५ मा अस्पताल सञ्चालनमा आएका छैनन्। यसले पनि ग्रामीण स्तरसम्म स्वास्थ्य सेवाको पहुँच नपुगेको देखिन्छ। अस्पताल सञ्चालन गरेका पालिकामा पनि विशेषज्ञ चिकित्सक नहुनु, कार्यालय सहयोगीले सेवा दिनु जस्ता कारणले पनि मातृ मृत्युदर घटाउन चुनौती छ । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *