कृषि क्षेत्रलाई मुलुकको प्रमुख उद्योग बनाउने उद्देश्यले जाम्बिया सरकारले कृषिमा विभिन्न नीतिहरू लागु गरिरहेको छ । जाम्बियाका राष्ट्रपति हकाइन्दे हिचिलेमाले सरकारले मुलुकको आर्थिक विकासमा किसानको महत्त्वलाई प्रमुख स्थान दिएको उल्लेख गर्दै कृषिलाई मुलुकको अग्रणी उद्योग बनाउन प्रतिबद्ध रहेको बताए ।
उनले आर्थिक वर्ष २०२३/२०२४ को राष्ट्रिय रोपण सिजनको औपचारिक शुभारम्भ गर्दै भने, “जेसुकै गर्नुपरोस्, हामी कृषिलाई प्रमुख उद्योग बनाउन गइरहेका छौँ, हामी अगाडि बढ्दै जाँदा कृषि नम्बर एकको रूपमा स्थापित हुनेछ ।”
बढीभन्दा बढी मानिसलाई कृषि क्षेत्रमा उद्यम गर्नका लागि प्रोत्साहन गर्न सरकारले यस क्षेत्रमा ऋण सुविधा उपलब्ध गराउने राष्ट्रपतिले बताए ।
उनले कृषिमन्त्रीलाई सरोकारवालाको एउटा बैठक आयोजना गर्न निर्देशन दिए । बैठकमा कृषि क्षेत्रलाई प्रभावित बनाउने विभिन्न मुद्दामा छलफल गरिने र समाधान खोजिने उनको भनाइ थियो ।
उनका अनुसार मकैजस्तो खाद्यान्नको बढ्दो बजारका कारण विकासमा व्यापक सम्भावना छ र यसले जाम्बियाको उत्पादकत्व बढाउने छ ।
कृषिमन्त्री रुबेन फिरीले मङ्गलबार मन्त्रालयले अनुदान कार्यक्रमअन्तर्गत १० लाखभन्दा बढी किसानलाई मल र बीउ वितरण कार्य सम्पन्न गरिएको जानकारी दिएका थिए ।