प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ अवार्ड

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२३’ को अवार्ड जितेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ २०२३ अवार्ड प्रभु बैंकलाई प्रदान गरेको हो।

सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ। ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ।

विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको बताइएको छ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ। बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरे।

अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो।

सम्मान प्राप्त गरेपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए। ‘वर्तमान आर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हैसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ,’ अध्यक्ष सिटौलाले भने।

त्यस्तै अवार्ड वितरण समारोहपछि सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए। सीईओ शेरचनले बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए।

प्रभु बैंकका अहिले ३०० बढी शाखा सञ्चालन छन्। यस्तै, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटीएममार्फत् देशव्यापी रुपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *