दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा छब्दी चाँपस्वरा धमाका मेला-२०८० शुरु भएको छ । छब्दी चाँपस्वरा युथ क्लबको आयोजनामा आजबाट शुरु भएको मेलाको उद्धाटन शुक्लागण्डकी नगरपालिका-१० का वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले गरेका हुन् ।
उद्धाटन समारोहमा वडा अध्यक्ष क्षेत्रीसँगै वडा सदस्य बिमल राना मगर, वडाका खेलकुद संयोजक जीवन क्षेत्री, समाजसेवी पहल बहादुर थापा लगायतको उपस्थित रहेको छ ।
यस्तै आजै भएको उद्धाटन खेलमा आयोजक ‘निलो’लाई हराउँदै हैदेगा भलिबल टिम, भिमादले विजयी शुरुवात गरेको छ । शुरुवातदेखिनै बलियो रुपमा प्रस्तुत भएको हैदेगा आयोजक’निलो’लाई २-० को सोझो सेटमा पाखा लगाउँदै दोस्रो चरणमा पुगेको हो । भोलि शुक्रबार प्रतियोगिताको थप खेल हुने खेल संयोजक भोजराज विसीले जानकारी दिए ।
तस्बिरमा हेर्नुहोस् –
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना भएको प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद तीस हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद बीस बजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ भने भने तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई विशेष आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।